वीरगन्ज :

प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै मौलापुरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन, पुतला दहन

श्रेणी : BANNER

1 hour
Pradeep Sah
1.8kViews
1335 Shares

मौलापुर (रौतहट), २५ असार । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयले प्रधानमन्त्री वालेन्द्र शाहको पुतला दहन गरेका छन् । बिहीबार स्थानीयले नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर बजेट कार्यान्वयन र प्रशासनिक सेवा प्रभावित पारेको आरोप लगाउँदै प्रदर्शनसहित प्रधानमन्त्रीको पुतला दहन गरेका हुन् ।

प्रदर्शनकारीहरूका अनुसार प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकाको बजेट कार्यान्वयन प्रभावित भएको छ भने विकास निर्माणका योजना समेत ठप्प हुने अवस्था सिर्जना भएको छ । उनीहरूले नगरपालिकालाई जानाजानी प्रशासकीय नेतृत्वविहीन बनाई बजेट फ्रिज गराउने प्रयास भइरहेको दाबी गरेका छन् । विरोध प्रदर्शनका क्रममा सहभागीहरूले ‘बिजुली–पानीको भुक्तानी गर’, ‘सम्मानित अदालतको आदेश पालन गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’, ‘मौलापुरमा तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाऊ’, ‘मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

स्थानीयको भनाइमा विकास निर्माणका कामले गति लिनुपर्ने बेला नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइनु जनप्रतिनिधि र नागरिक दुवैका लागि चिन्ताको विषय बनेको छ । उनीहरूका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुरेशबाबु घिमिरेलाई खटाएको थियो । तर उनले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि मन्त्रालयले फिर्ता बोलाएपछि त्यसयता नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा नगरपालिकाको प्रशासनिक तथा आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको स्थानीयको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका काम, बजेट कार्यान्वयन तथा भुक्तानी प्रक्रिया अवरुद्ध भएको भन्दै स्थानीयले आन्दोलन जारी राखेका छन् । उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्ने माग गरेका छन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगर शिक्षकले छ महिनादेखि तलब नपाएको भन्दै यसअघि पेन डाउन आन्दोलन गरेका थिए । बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभग्राही तथा सरसफाइ कर्मचारीले समेत लामो समयदेखि भुक्तानी नपाएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *