
बीरगन्ज,०९ जेठ । पर्साको सखुवा पर्सौनी–३ मा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले एक महिने सिलाई कटाई तालिम सुरु गरिएको छ।
सुलभ सीपमूलक तालिम केन्द्रको आयोजनामा तथा बीरगन्ज महानगरपालिका वडा नं. ३२ को सहयोगमा सञ्चालन भएको तालिमको उद्घाटन शुक्रबार एक कार्यक्रमबीच गरिएको हो।
तालिम उद्घाटन कार्यक्रममा सुलभ सीपमूलक तालिम केन्द्रका सञ्चालक सुरेश प्रसाद पटेलको अध्यक्षता रहेको थियो भने वीरगञ्ज महानगरपालिका वडा नं. ३२ का वडा अध्यक्ष रियाज मोहम्मद प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष मोहम्मदले महिलाहरूलाई तालिमबाट अधिकतम लाभ लिन आग्रह गर्दै सीपलाई आयआर्जनसँग जोड्न सुझाव दिए। उनले महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताए।
त्यस्तै वडा सदस्य ईसाद अन्सारीले सहभागी महिलाहरूलाई तालिमको महत्व बुझेर सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गरे।
कार्यक्रममा जनभण्डाफोर दैनिकका कार्यकारी सम्पादक तथा जगत समाचारका सञ्चालक जगत राईले सीपमूलक तालिम आत्मनिर्भर बन्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै महिलाहरूलाई सीपलाई व्यवसाय र रोजगारीसँग जोड्न प्रेरित गरे। उनले महिलालाई सक्षम बनाउन स्थानीय तहले सञ्चालन गरिरहेका यस्ता कार्यक्रमको सदुपयोग गर्नुपर्नेमा जोड दिए।
सुलभ सीपमूलक तालिम केन्द्रका सञ्चालक सुरेश प्रसाद पटेलका अनुसार तालिममा २५ जना महिलाहरूको सहभागिता रहेको छ।


प्रतिक्रिया