वीरगन्ज :

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

श्रेणी : BANNER

14 hours
Pradeep Sah
2.1kViews
1786 Shares

वीरगंज (पर्सा), १६ जेठ । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले वर्तमान परिस्थितिमा नेपाली पत्रकारिता राज्यसत्ताको दबाब र हस्तक्षेपको जोखिममा परेको टिप्पणी गरेका छन् । लोकतन्त्रको रक्षा र जनताको आवाजलाई बुलन्द बनाउने सञ्चार क्षेत्रलाई कमजोर पार्ने उद्देश्यले सरकारले विभिन्न माध्यमबाट नियन्त्रण र दबाब सिर्जना गर्न खोजिरहेको आरोप उनले लगाए ।

शनिबार वीरगंजमा प्रेस सेन्टर नेपाल पर्सा शाखाद्वारा आयोजित ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ तथा ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०८३’ वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले प्रेस स्वतन्त्रतामाथि चुनौती थपिँदै गएको बताए ।

क्रान्तिकारी पत्रकार तथा सहिद कृष्णसेन इच्छुकको योगदान स्मरण गर्दै उनले गणतन्त्र, लोकतन्त्र र नागरिक अधिकारको पक्षमा निर्भीक आवाज उठाएकै कारण इच्छुकले ज्यान गुमाउनुपरेको उल्लेख गरे । बदलिँदो राजनीतिक र सामाजिक परिवेशमा सत्य, निष्पक्ष र साहसी पत्रकारिताको आवश्यकता झन् बढ्दै गएको उनको भनाइ थियो ।

गिरीले मुलुकभरका सञ्चारमाध्यमहरू गम्भीर आर्थिक संकटसँग जुधिरहेका बेला उनीहरूलाई संरक्षण र प्रवद्र्धन गर्ने नीतिगत व्यवस्था आवश्यक रहेको बताए । तर सरकारले सञ्चार क्षेत्रलाई सशक्त बनाउनुको सट्टा नियन्त्रणमुखी सोचका साथ अघि बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) का वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले पत्रकारिता क्षेत्र कमजोर भए लोकतान्त्रिक प्रणाली नै संकटमा पर्ने चेतावनी दिए । सञ्चारमाध्यमहरूले नागरिक अधिकार, पारदर्शिता र सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले कानुन र नियमावलीको आडमा प्रेसलाई सीमित गर्न खोजिए सञ्चारकर्मीहरूले सशक्त प्रतिवाद गर्ने स्पष्ट पारे ।

निरज पिठाकोटे र बलिराम यादव सम्मानित
समारोहमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले स्थापना गरेको ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार–२०८३’ बाट कारोबार दैनिकका वीरगंज संवाददाता निरज पिठाकोटे मगर सम्मानित भएका छन् । यस्तै, ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०८३’ युवा पत्रकार बलिराम यादवलाई प्रदान गरिएको छ ।

पुरस्कृत दुवै पत्रकारलाई प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी, एकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायतका अतिथिहरूले जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सुनिता बराल तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापालगायतले पुरस्कृत पत्रकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले श्रमजीवी पत्रकारको अधिकार, पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको संरक्षणका लागि सबै सञ्चारसम्बद्ध संस्था र संगठनहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *