वीरगन्ज :

नारायणी अस्पतालमा दलालको चलखेल ? सेवाग्राहीले उठाए ‘सेटिङ’को गम्भीर प्रश्न

श्रेणी : BANNER

53 minutes
Pradeep Sah
2.5kViews
1299 Shares

बीरगन्ज,०९ जेठ । बीरगन्जस्थित नारायणी अस्पताल फेरि विवादमा परेको छ। अस्पतालभित्र सक्रिय केही दलाल समूहले बिरामीलाई बाहिरी मेडिकल पसलमा पठाएर कमिसन खाने गरेको आरोप सार्वजनिक भएपछि सेवाग्राही तथा स्थानीयवासी आक्रोशित बनेका छन्।

पीडित तथा सेवाग्राहीहरूको गुनासोअनुसार अस्पताल परिसरमा केही एम्बुलेन्स चालक, बिचौलिया र बाहिरी औषधि पसलबीच मिलेमतो हुने गरेको आरोप छ। बिरामी अस्पताल आइपुग्नेबित्तिकै निश्चित मेडिकल पसलमा पठाउने, महँगो औषधि किन्न दबाब दिने तथा त्यसबापत कमिसन लिने काम भइरहेको उनीहरूको भनाइ छ।

विशेषगरी इमर्जेन्सी वार्ड आसपास यस्ता गतिविधि बढी हुने गरेको सेवाग्राहीहरूले बताएका छन्। आपतकालीन अवस्थामा आएका बिरामीका आफन्तलाई अलमल्याएर बाहिरी मेडिकल तथा निजी सेवातर्फ मोड्ने गरिएको आरोपसमेत लगाइएको छ।

स्थानीयका अनुसार अस्पताल परिसरमा लामो समयदेखि सक्रिय कथित दलाली सञ्जालले बिरामीलाई कुन मेडिकल पसलमा पठाउने र कुन एम्बुलेन्स प्रयोग गराउने भन्ने विषयसम्म ‘सेटिङ’ मिलाउने गरेको आशंका गरिएको छ।

सेवाग्राहीहरूले अस्पताल प्रशासनको कमजोर निगरानीका कारण यस्तो गतिविधि बढ्दै गएको बताएका छन्। अस्पतालभित्र प्रहरी बिट हुँदाहुँदै पनि दलाल समूह सक्रिय रहेको भन्दै सर्वसाधारणले प्रहरी प्रशासनमाथिसमेत प्रश्न उठाएका छन्।

पीडित पक्षका अनुसार घटनाबारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साहलाई जानकारी गराइए पनि हालसम्म कुनै ठोस पहल वा कारबाही नभएको गुनासो गरिएको छ।

घटनापछि सेवाग्राहीहरूले स्वास्थ्य मन्त्रालय, मधेश प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *