जनकपुर,१२ साउन । सुनसरीको देवानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरी र मोरङका विभिन्न क्षेत्रमा तनाव बढेको छ। देवानगञ्जको अवस्था क्रमशः सामान्य बन्दै गए पनि आन्दोलन भने अन्य स्थानहरूमा फैलिएको छ।
प्रदर्शनकारीहरूले घरेलु हतियारसहित सडकमा उत्रिएर बजार तथा व्यापारिक गतिविधि बन्द गराएका छन्। उनीहरूले सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर यातायात अवरुद्ध गरेका छन्, जसका कारण आवागमन प्रभावित भएको छ।
सुरक्षा अवस्था थप जटिल हुन नदिन प्रहरीले इटहरीबाट पश्चिमतर्फ जाने सवारी साधन सञ्चालन अस्थायी रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिएका छन्।
हाल सुनसरीको सदरमुकाम इनरुवामा प्रदर्शन जारी रहेको छ भने दुहबीमा सद्भाव र्याली निकालिएको छ। उता मोरङको विराटनगरमा पनि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै स्थानीय व्यवसायीहरूले बिहानैदेखि बजार तथा पसल बन्द गरेका छन्।
प्रहरीले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ भने स्थिति थप बिग्रिन नदिन आवश्यक सतर्कता अपनाइएको जनाएको छ।

प्रतिक्रिया