वीरगन्ज :

तीन महिनादेखि तलबविहीन बने बीरगन्ज महानगरका कर्मचारी

श्रेणी : अर्थ

2 hours
Pradeep Sah
2.4kViews
1108 Shares

बीरगन्ज,०२ जेठ । बीरगन्ज महानगरपालिका मा प्रमुख प्रशासकीय अधिकृतको विवाद लम्बिँदा कर्मचारीहरू तीन महिनादेखि तलबविहीन बनेका छन्। प्रशासनिक नेतृत्व रिक्त हुँदा महानगरको दैनिक सेवा प्रवाह र विकास निर्माणका कामसमेत प्रभावित भएका छन्।

महानगरका कर्मचारीहरूका अनुसार २०८२ फागुनयता तलब निकासा हुन सकेको छैन। महानगर कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विभिन्न शाखामा कार्यरत कर्मचारीहरूले नियमित रूपमा काम गरिरहे पनि तलब नपाउँदा आर्थिक समस्या झेल्नुपरेको बताएका छन्।

संघीय सरकारले सहसचिव रेशमलाल कँडेल लाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय गरे पनि उनी हालसम्म कार्यालयमा हाजिर नभएको जनाइएको छ। यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका अरविन्दलाल कर्णको अधिकार कटौती भएपछि आर्थिक तथा प्रशासनिक प्रक्रिया प्रभावित बनेको कर्मचारीहरूको भनाइ छ।

तलब नपाउँदा घरखर्च चलाउन, बालबालिकाको विद्यालय शुल्क तिर्न र दैनिक आवश्यकता पूरा गर्न कठिन भएको कर्मचारीहरूले बताएका छन्। यता विकास योजनामा काम गरिरहेका निर्माण व्यवसायीहरूले पनि भुक्तानी रोकिँदा पूर्वाधार निर्माणका काम सुस्त बनेको बताएका छन्।

महानगर प्रमुख राजेशमान सिंह ले संघीय सरकारले स्थानीय तहसँग समन्वय नगरी निर्णय थोपर्ने प्रवृत्ति दोहोरिएको आरोप लगाएका छन्। उनले मन्त्रालयसँग पुनर्विचारका लागि पत्राचार गरिए पनि हालसम्म समाधान ननिस्किएको बताए।

प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा देखिएको ढिलाइले स्थानीय सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै स्थानीयवासीले संघीय सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वयको माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *