वीरगन्ज :

ठोरीमा फेरि जंगली हात्तीको आतंक, स्थानीय त्रसित

श्रेणी : मधेस

2 years
Pradeep Sah
1.8kViews
1404 Shares

बीरगन्ज,२४ पुस । पर्साको ठोरी गाउँपालिकामा फेरि जंगली हात्तीले आतंक मच्चाउँदा स्थानीय बासिन्दा त्रसित भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट आएको हात्तीले बुधबार बिहान गाउँमा पसेर घर भत्काउनुका साथै भण्डार गरिएका अन्न नष्ट गरेको छ।

बुधबार बिहान करिब ३ बजेतिर ठोरी गाउँपालिका–२ गौतमनगरका चेतबहादुर बस्नेतको घरको बार भत्काएर हात्तीले १२ मुरीभन्दा बढी धान खाइदियो। यस्तै, काजी प्याकुरेलको घरमा पसेर धान नष्ट गर्नुका साथै सीता गौतमको घरको बार पनि भत्काएको वडाध्यक्ष अमृतकृष्ण सापकोटाले बताए।

धान खाइरहेको हात्तीलाई गाउँलेहरूले होहल्ला गरेर भगाए पनि हात्ती फेरि इच्छानगर क्षेत्रमा पस्यो। बिहान ११ बजेसम्म हात्ती मानवबस्तीमै डुलिरहेकाले स्थानीय बासिन्दा आतङ्कित बने। सम्भावित दुर्घटना रोक्न नेपाली सेनाले हात्ती रहेको क्षेत्रमा स्थानीयलाई आवतजावतमा रोक लगाएको थियो।

केही दिनअघि मात्र निकुञ्जको अमुवा पोस्टमा तैनाथ नेपाली सेनाका एक जवानलाई हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो। घाइते जवानलाई तत्काल उपचारका लागि चितवन पुर्‍याइएको वडाध्यक्ष सापकोटाले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *