वीरगन्ज :

जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको छैन : रमेश लेखक

श्रेणी : अपराध

5 months
Pradeep Sah
2.2kViews
1621 Shares

काठमाडौं, १४ पुस । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफूले गोली चलाउन वा बल प्रयोग गर्न कुनै पनि किसिमको आदेश नदिएको स्पष्ट पारेका छन्। आइतबार जाँचबुझ आयोगसमक्ष बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

लेखकले आफूबाट न त लिखित न त मौखिक रूपमा गोली प्रहार गर्ने आदेश जारी भएको बताएका छन्। “मैले गोली चलाउने, बल प्रयोग गर्ने वा अन्य कुनै किसिमको आदेश दिएको छैन। त्यस्तो आदेश दिनुपर्ने न त कारण थियो, न त कानुनी व्यवस्था नै,” उनले भने।

उनले सुरक्षाकर्मीलाई कति बल प्रयोग गर्ने र कसरी गर्ने भन्ने विषयमा पनि आफूले कुनै निर्देशन नदिएको स्पष्ट गर्दै घटनाले आफूलाई गहिरो पीडामा पारेको बताएका छन्। सोही कारण पदिय मर्यादा र नैतिकताको आधारमा राजीनामा दिएको उनको भनाइ छ।

“म अत्यन्तै मर्माहित भएँ। त्यसैले पदिय मर्यादा कायम राख्न र नैतिक जिम्मेवारी वहन गर्दै राजीनामा दिएको हुँ,” लेखकले भने।

आफूले ज्यान जाने गरी आदेश दिन सक्दिनँ भन्दै उनले प्रश्न समेत उठाए, “मैले कसैलाई मार्न आदेश दिन सक्छु र? यस्तो गलत कर्म मबाट हुनै सक्दैन।”

पूर्व गृहमन्त्री लेखकले जेनजी आन्दोलनसँग जोडिएका घटनाहरू सत्यतथ्यका आधारमा छानबिन हुने विश्वास व्यक्त गर्दै आफू निर्दोष रहेको दाबी दोहोर्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *