वीरगन्ज :

जग्गा विवाद हिंसात्मकः चक्कु प्रहारबाट एक जनाको मृत्यु

श्रेणी : अपराध

5 hours
Pradeep Sah
1.9kViews
1952 Shares

गौर (रौतहट), २४ असार । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गा विवादले उग्र रूप लिँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको स्वामित्वलाई लिएर भएको विवाद कुटपिटमा परिणत भएको थियो ।

विवादका क्रममा रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए । ढाडमा गम्भीर चोट लागेका बुटन साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो । तर उपचारकै क्रममा राति करिब ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

घटनामा रामबहादुर साह पनि टाउकोमा चोट लागेर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रहेको आरोपमा रामेश्वर साह र रामऔतार साहलाई नियन्त्रणमा लिएको छ । घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *