काठमाडौं,०७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा चीन भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार लामिछानेको भ्रमण पार्टीस्तरीय हुनेछ। भ्रमणको आवश्यक समन्वय भने परराष्ट्र मन्त्रालयले पनि गरिरहेको छ।
भ्रमण साउनमै हुने वा भदौमा हुने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ। दुवै पक्षबीचको समन्वयपछि मिति तय गरिनेछ भने भ्रमणको औपचारिक तालिका पनि पार्टी तहबाट सार्वजनिक गरिने जनाइएको छ।
यसअघि सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारतको पाँचदिने भ्रमण पूरा गरेर जेठ २२ गते स्वदेश फर्किएका थिए। भारत भ्रमणपछि नै उनलाई चीन भ्रमणको औपचारिक निमन्त्रणा प्राप्त भएको स्रोतले जनाएको छ।
यसैबीच, रास्वपाका विदेश विभाग प्रमुखसमेत रहेका परराष्ट्रमन्त्री शिशिर खनालले पनि जेठको अन्तिम साता चीन भ्रमण गरेका थिए। रास्वपाले सभापति लामिछानेको चीन भ्रमणलाई दुई पार्टीबीचको सम्बन्ध तथा आपसी अनुभव आदानप्रदानका रूपमा लिएको बताइएको छ।

प्रतिक्रिया