वीरगन्ज :

ग्यालेक्सी टीभीलाई तत्काल कार्यालय खाली गर्न आदेश, अटेर गरे बहुमूल्य उपकरण र सामग्री लिलाम गरिने चेतावनी

श्रेणी : BANNER

55 minutes
Pradeep Sah
2.6kViews
1932 Shares

काठमाडौं,१२ जेठ । सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त मानिएका गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार भएपछि बन्द अवस्थामा रहेको ग्यालेक्सी फोरके टेलिभिजन अब कानुनी रूपमा पूर्ण विघटनको चरणमा पुगेको छ।

काठमाडौं महानगरपालिकाले टेलिभिजन कार्यालयमा रहेका सम्पूर्ण सामान १५ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गर्दै, तोकिएको अवधिभित्र बाँकी बहाल रकम नतिरे र सामान नलगिए लिलाम प्रक्रिया अघि बढाइने चेतावनी दिएको हो।

यो विवाद काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित भवनका घरधनी मृगेन्द्रप्रसाद मिश्र र गोरखा मिडिया नेटवर्कबीचको हो। टेलिभिजन बन्द भएपछि तथा अध्यक्ष जीबी राई सम्पर्कविहीन बनेपछि घरधनी मिश्रले महानगरको न्यायिक समितिमा ‘भाडा असुल गरी घर खाली गराइपाऊँ’ भन्दै मुद्दा दायर गरेका थिए।

न्यायिक समितिले २०८१ कात्तिक १४ गते घरधनीकै पक्षमा फैसला गर्दै बाँकी घरबहाल र कर असुल गरी भवन खाली गराउन आदेश दिएको थियो। तर निर्णय कार्यान्वयन नभएपछि मिश्र उच्च अदालत पाटन पुगेका थिए। अदालतले २०८२ साउन २८ गते दुई महिनाभित्र फैसला कार्यान्वयन गर्न महानगरपालिकालाई परमादेश जारी गरेपछि महानगर सक्रिय बनेको थियो।

त्यसपछि २०८२ कात्तिक १४ गते महानगरको टोलीले कार्यालय खाली गराउने प्रक्रिया अघि बढाएको थियो। तर, ६ महिनासम्म पनि गोरखा मिडियाका तर्फबाट सामान बुझ्न कोही सम्पर्कमा नआएपछि कार्यालयभित्र रहेका महँगा उपकरण र सामग्री अलपत्र परेका छन्।

यसैबीच, घरधनी मिश्रले गत वैशाख २१ गते ती सामान लिलाम गर्न अनुमति माग्दै महानगरमा निवेदन दिएका थिए। सोही आधारमा महानगरले अन्तिम १५ दिने सूचना जारी गरेको हो।

एक समय नेपालमा अत्याधुनिक ‘४के’ प्रविधिसहित सञ्चालनमा आएको ग्यालेक्सी फोरके टेलिभिजन तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, जीबी राईलगायतको लगानीमा स्थापना गरिएको थियो। तर रवि लामिछाने राजनीतिमा प्रवेश गरेपछि व्यवस्थापन कमजोर बन्दै गएको र पछि जीबी राई सहकारी ठगी प्रकरणमा फरार भएपछि च्यानलको प्रसारण नै बन्द हुन पुगेको थियो।

अब च्यानलका भौतिक सम्पत्तिसमेत लिलाम हुने अवस्थासम्म पुगेपछि ग्यालेक्सी टीभीको यात्रा औपचारिक रूपमा अन्त्यतिर पुगेको देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *