वीरगन्ज :

क्यान्सरसँग जुधिरहेकी महिलालाई घरमै पुगेर नागरिकता, बाराका प्रजिअ स्वयं पुगे बिरामीको आँगनमा

श्रेणी : मधेस

51 minutes
Pradeep Sah
1.7kViews
1929 Shares

बारा,०९ जेठ । बारा जिल्लामा प्रशासनले मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गर्दै क्यान्सर रोगबाट थलिएकी एक महिलालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको छ।

कलैया उपमहानगरपालिका–२७ निवासी मुरतिया देवी लामो समयदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहेकी छन्। गम्भीर बिरामीका कारण उनी ओछ्यानबाट उठ्नसमेत नसक्ने अवस्थामा पुगेपछि नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म जान असमर्थ थिइन्।

परिवारले उनको अवस्थाबारे जिल्ला प्रशासन कार्यालय बारालाई जानकारी गराउँदै नागरिकता उपलब्ध गराइदिन अनुरोध गरेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले तत्काल विशेष टोली परिचालन गरेका थिए। प्रजिअ मिश्र स्वयं टोलीको नेतृत्व गर्दै बिरामीको घरमै पुगेका थिए।

टोलीले घरमै पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुका साथै मुरतिया देवीको सनाखत गरेको थियो। त्यसपछि प्रजिअ मिश्रले उनका पति सञ्जय सहनी मलाहलाई नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

यस मानवीय कार्यमा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रशासकीय अधिकृत मनिषा कर्ण, नायब सुब्बा रत्न स्याङ्गतान, कम्प्युटर अपरेटर हरिवंश चौधरी तथा कलैया–२७ का वडा अध्यक्ष अशोक तिवारीलगायतको सहभागिता रहेको थियो।

सरकारी अधिकारीहरू स्वयं घरमै पुगेर नागरिकता उपलब्ध गराएपछि पीडित परिवार भावुक बनेको थियो। उनीहरूले संकटको समयमा प्रशासनले देखाएको सहयोग जीवनभर सम्झिरहने बताएका छन्।

जिल्ला प्रशासन कार्यालय बाराले नागरिकता हस्तान्तरणसँगै क्यान्सरसँग संघर्ष गरिरहेकी मुरतिया देवीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *