वीरगन्ज :

कोशी कटान क्षेत्र अशान्त, प्रदर्शनकारीद्वारा तोडफोड र आगजनी

श्रेणी : अपराध

45 minutes
Pradeep Sah
1.8kViews
1137 Shares

काठमाडौं,१२ साउन । सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावपूर्ण बनेको छ। प्रदर्शनकारीहरूले विभिन्न पसलमा तोडफोड, लुटपाट तथा आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले प्रदर्शनलाई उग्र बनाउँदै आगजनी गरेको हो। प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै आवागमनसमेत प्रभावित पारेका छन्।

सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको छ भने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

गत आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। उक्त घटनामा अन्य नौ जना घाइते भएका थिए।

घटनापछि सुरक्षा अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिणी क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युको अवज्ञा गर्दै सोमबार दिनभर प्रदर्शन जारी रह्यो। प्रशासनले मंगलबार पनि कर्फ्युलाई निरन्तरता दिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। साथै हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश यथावत् रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *