वीरगन्ज :

कलैया कारागारको सरकारी जग्गा खाली गराउन प्रशासन सक्रिय

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.8kViews
1329 Shares

बारा,०३ जेठ । बारा जिल्लाको कलैया उपमहानगरपालिका–४ स्थित कारागार शाखाको नाममा रहेको सरकारी जग्गामाथिको अतिक्रमण हटाउने प्रक्रिया सुरु गरिएको छ। वर्षौँदेखि अवैध रूपमा कब्जा गरिएका घरटहरा तथा संरचनामाथि प्रशासनले कडाइ गरेपछि केही अतिक्रमणकारीहरूले आफ्ना संरचना आफैँ हटाउन थालेका छन्।

कारागार शाखा कलैयाको स्वामित्वमा रहेका कित्ता नम्बर १०३, १०२ र ४४४ अन्तर्गतका सरकारी जग्गामा स्थानीय व्यक्तिहरू तथा भू–माफियाले स्थायी र अस्थायी संरचना बनाएर प्रयोग गर्दै आएका थिए। जिल्ला प्रशासन कार्यालय बाराले गत चैत २६ गते सार्वजनिक सूचना जारी गर्दै एक महिनाभित्र सबै संरचना हटाउन निर्देशन दिएको थियो।

प्रशासनले दिएको समयसीमा सकिएसँगै अहिले जग्गा खाली गराउने काम तीव्र बनाइएको छ। प्रशासनका अनुसार अतिक्रमणकारीहरूले कुनै कानुनी अनुमति वा सम्झौताविना सरकारी सम्पत्ति कब्जा गरेको पुष्टि भएपछि स्थानीय प्रशासन ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले प्रशासनको चेतावनीपछि केही व्यक्तिहरूले स्वेच्छाले टहरा हटाउन थालेको बताए। उनका अनुसार सोमबार प्रशासन, नापी कार्यालय तथा सुरक्षाकर्मीको टोलीले पुनः स्थलगत निरीक्षण गर्नेछ।

निर्धारित समयसम्म पनि अटेर गरी संरचना नहटाइए डोजर प्रयोग गरेर हटाइने र त्यसको खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुल गरिने प्रशासनले चेतावनी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *