वीरगन्ज :

कर्मचारीमाथि कुटपिटको विरोधमा कालिकामाई गाउँपालिका तीन दिनदेखि ठप्प, जाहेरी दर्ताको माग गर्दै धर्ना

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.5kViews
1595 Shares

वीरगंज (पर्सा), २५ असार । पर्साको कालिकामाई गाउँपालिकामा कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीहरू तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् । दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै कर्मचारीहरूले पेनडाउन आन्दोलन जारी राखेका छन् ।

गत मंगलबार कार्यालय समयमै गाउँ कार्यपालिकाको कार्यालयभित्र चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले सोही दिनदेखि गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प पारेका हुन् । आन्दोलनका कारण बुधबारदेखि गाउँपालिका अन्तर्गतका विद्यालय तथा स्वास्थ्य चौकीसमेत बन्द रहेका छन् । घटनाको तीन दिन बितिसक्दा पनि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको र मुख्य आरोपितहरूलाई पक्राउ नगरेको भन्दै आन्दोलनरत कर्मचारीहरूले बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्ना दिएका छन् ।

कर्मचारीहरूका अनुसार कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय कुमार पटेल, गाउँपालिका–२ निवासी आफूलाई जेनजी अगुवा बताउने राजनिश कुशवाहा तथा हिरालाल राउत कुर्मीविरुद्ध आपराधिक उपद्रव मुद्दामा किटानी जाहेरी दिइएको भए पनि प्रहरीले दर्ता गरेको छैन् । घटनाको सीसीटीभी फुटेजमा समेत कुटपिट स्पष्ट देखिएको दाबी गर्दै कर्मचारीहरूले प्रहरीले निष्पक्ष रूपमा अनुसन्धान नगरेको आरोप लगाएका छन् ।

कर्मचारीहरूले सरकारी कार्यालयमा कार्यरत कर्मचारीमाथि कार्यालय समयमै योजनाबद्ध रूपमा भएको आक्रमण सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमण भएको बताएका छन् । उनीहरूले दोषीलाई संघीय कानुनबमोजिम कडा कारबाही गर्न, सरकारी कर्मचारीको सुरक्षा सुनिश्चित गर्न तथा घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले उक्त घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाएको, प्रशासनिक कामकाज प्रभावित भएको र सुशासनमा समेत नकारात्मक असर परेको बताए ।

गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले कर्मचारीमाथि जुनसुकै बहानामा गरिएको कुटपिटको घटना निन्दनीय भएको भन्दै घटनामा संलग्न जो–कोही भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताए । यता जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *