वीरगन्ज :

‘उद्योग जोगिए मात्रै अर्थतन्त्र बलियो बन्छ’ भन्दै वीरगञ्जका उद्योगी–व्यवसायीले रवि लामिछानेलाई बुझाए ९ बुँदे ध्यानाकर्षण पत्र

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.2kViews
1480 Shares

वीरगंज (पर्सा), १८ असार ।  मुलुकको औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा परिचित वीरगञ्जका उद्योगी–व्यवसायीले निजी क्षेत्रले वर्षौंदेखि भोग्दै आएका नीतिगत तथा संरचनागत समस्याको शीघ्र समाधान गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।

चितवनमा सम्पन्न पार्टीको महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका लामिछानेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघले निजी क्षेत्रका चुनौती र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन आवश्यक सुधारका विषयमा विस्तृत जानकारी गराएको हो।

संघले बुझाएको ध्यानाकर्षण पत्रमा उद्योग, व्यापार, भन्सार, बैंकिङ, पूर्वाधार, बीमा, पर्यटन र लगानीसँग सम्बन्धित विभिन्न नीतिगत सुधारका प्रस्ताव समेटिएका छन्। निजी क्षेत्रलाई सहज व्यावसायिक वातावरण उपलब्ध गराए मात्र अर्थतन्त्रले गति लिने भएकाले सरकारले आवश्यक नीतिगत निर्णय तत्काल गर्नुपर्ने संघको जोड छ।

सभापति लामिछानेसँग भएको छलफलका क्रममा संघका प्रतिनिधिहरूले औद्योगिक तथा व्यापारिक वातावरण सुधारका लागि आवश्यक कानुनी तथा नीतिगत परिवर्तनबारे आफ्ना धारणा राखेका थिए। विशेषगरी नेपालमा व्यापारको प्रमुख आधार बनेको उधारो प्रणालीलाई व्यवस्थित गर्न छुट्टै क्रेडिट ऐन ल्याउनुपर्ने आवश्यकता औंल्याइएको थियो।

संघका वरिष्ठ उपाध्यक्ष माधवराज पालका अनुसार लामो समयसम्म उधारो रकम असुल हुन नसक्दा उद्योगी–व्यवसायी थप बैंक ऋण लिन बाध्य हुने, ब्याजको भार बढ्ने र उद्योग सञ्चालनमै संकट उत्पन्न हुने अवस्था देखिएकाले उधारो कारोबारलाई कानुनी दायरामा व्यवस्थित गर्नुपर्ने माग गरिएको छ।

यसैगरी बारा–पर्सा औद्योगिक करिडोरमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न, सरकारी स्वामित्वको उपयुक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई हस्तान्तरण गरी उद्योग विस्तारका लागि आवश्यक वातावरण तयार गर्न पनि ध्यानाकर्षण गराइएको छ।

भन्सार नीतिमा सुधार गर्दै दाल उद्योगसँग सम्बन्धित व्यवस्थालाई परिमार्जन गर्न, नेपाल–भारतबीच भन्सार तथा जीएसटी दरमा रहेको असमानता अन्त्य गर्न, सीमावर्ती क्षेत्रमा हुने अनौपचारिक व्यापार नियन्त्रण गर्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य अन्तर घटाउनुपर्ने विषय पनि संघले उठाएको छ।

व्यापार सहजीकरणका लागि भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक तथा सवारी साधनका लागि सिंगल–विन्डो क्लियरेन्स प्रणाली लागू गर्नुपर्ने, वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) मा अत्याधुनिक प्रयोगशाला, शीत भण्डारण, स्वच्छ खानेपानी, शौचालय, प्राथमिक उपचार कक्ष, एम्बुलेन्स र सुरक्षा पूर्वाधार विस्तार गर्नुपर्ने माग पनि ध्यानाकर्षण पत्रमा समावेश गरिएको छ।

त्यस्तै, नेपालमा गोल्ड–लिंक्ड ईटीएफ सञ्चालनको व्यवस्था मिलाई नागरिकलाई भौतिक सुन खरिद नगरी सुरक्षित, पारदर्शी र व्यवस्थित लगानीको अवसर उपलब्ध गराउनुपर्ने सुझाव संघले दिएको छ।

संघले सिमरा विमानस्थलको धावनमार्ग विस्तार, आधुनिक पूर्वाधार विकास तथा त्यसलाई व्यावसायिक र पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराएको छ। साथै, उद्योगको प्रकृतिअनुसार बीमा नीति लागू गरी अनावश्यक प्रिमियमको भार कम गर्नुपर्ने माग पनि अघि सारिएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रका समस्या केवल उद्योगी–व्यवसायीसँग मात्र सीमित नभई समग्र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित रहेको बताए। उनले उद्योगी–व्यवसायीले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै सरकारसमक्ष ती समस्याको समाधानलाई प्राथमिकतामा राख्न निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए।

उत्पादन, लगानी र रोजगारी वृद्धि गर्न निजी क्षेत्रप्रति विश्वासको वातावरण निर्माण आवश्यक रहेको उल्लेख गर्दै उनले उद्योगमैत्री नीति र वातावरणबिना आर्थिक गतिविधिले अपेक्षित गति लिन नसक्ने धारणा व्यक्त गरे।

वीरगञ्ज उद्योग वाणिज्य संघले उच्च ब्याजदर, कमजोर लगानी वातावरण, भुक्तानी संकट, असन्तुलित भन्सार नीति तथा पूर्वाधार अभावका कारण निजी क्षेत्र गम्भीर समस्यामा परेको उल्लेख गर्दै सरकारलाई निजी क्षेत्रको साझेदारका रूपमा अघि बढ्न र आवश्यक सुधारका कार्यक्रम तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ।

उद्योगी–व्यवसायीका गुनासा सुनेपछि सभापति लामिछानेले निजी क्षेत्र आर्थिक विकासको प्रमुख साझेदार भएको दोहोर्याउँदै उद्योग र व्यवसायको प्रवर्द्धनबिना समृद्ध नेपालको परिकल्पना पूरा हुन नसक्ने बताए। उनले उद्योगी–व्यवसायीका जायज माग सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ। उद्योगी–व्यवसायीका जायज समस्याको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्न हामी प्रतिबद्ध छौँ।”

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्तको सहजीकरणमा सम्पन्न उक्त भेटघाटमा वीरगञ्ज महानगरपालिकाका प्रथम मेयर विजयकुमार सरावगी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधवराज पाल, पूर्वअध्यक्ष गणेश लाठ, उपाध्यक्ष मनोज दास, सचिव प्रेमचन्द गोयल, सहसचिव सुशान्त चाचानलगायत संघका पदाधिकारी तथा उद्योगी–व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *