वीरगन्ज :

रास्वपाले १८ सदस्यीय सानो आकारको मन्त्रिपरिषद गठनको तयारी सुरु

श्रेणी : BANNER

1 month
Pradeep Sah
2.1kViews
1882 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद् गठनको तयारी तीव्र बनाएको छ । पार्टी स्रोतका अनुसार करिब १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाइएको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी ले मन्त्रिपरिषद् सानो, प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्यसहित संख्या सीमित राख्ने प्रयास भइरहेको जानकारी दिए। “हामी सकेसम्म सानो र चुस्त मन्त्रिपरिषद् बनाउने पक्षमा छौं। करिब १८ सदस्यीय बनाउने गरी छलफल भइरहेको छ,” उनले अनलाइनखबरसँग भने।

उनका अनुसार मन्त्रालयहरूको संरचना पुनर्संरचना गर्ने विषयमा पनि गम्भीर छलफल चलिरहेको छ। केही मन्त्रालय गाभ्ने, दोहोरो जिम्मेवारी दिने वा कार्यक्षमता बढाउने अन्य विकल्पहरूबारे समेत पार्टीभित्र बहस जारी रहेको उनले बताए। “अहिलेसम्म मन्त्रालयको संख्या र मन्त्रीहरूको नाम टुंगो लागिसकेको छैन,” उनले स्पष्ट पारे।

यसैबीच, रास्वपाका वरिष्ठ नेता बालेन शाह को नेतृत्वमा नयाँ सरकार गठन हुने तयारी अन्तिम चरणमा पुगेको छ। स्रोतका अनुसार चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। सोही अवसरमा मन्त्रिपरिषद्का सदस्यहरूले पनि सामूहिक रूपमा शपथ लिने गरी तयारी अघि बढाइएको छ।

रास्वपाले परम्परागत ठूला मन्त्रिपरिषद् संरचनाबाट अलग हुँदै सानो, चुस्त र कार्यसम्पादनमुखी सरकार गठन गर्ने रणनीति लिएको बताइएको छ। यस कदमलाई प्रशासनिक खर्च घटाउने र निर्णय प्रक्रियालाई छिटो तथा प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *