वीरगन्ज :

पाँच वर्षमा ६ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने एमालेको लक्ष्य

श्रेणी : अर्थ

3 years
birgunj report
36Views
0 Shares

काठमाडौं । आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पुर्याउने लक्ष्यसहित नेकपा(एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पुर्याउने योजना अगाडि सारेको छ ।

सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने विषयलाई सो दलले घोषणापत्रमा समावेश गरेको छ । त्यस्तै, प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाट प्रतिघण्टा पुर्याउने लक्ष्य राखेको छ ।

स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादनमा जोड दिने सो पार्टीको दाबी छ ।

स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधि, सिमेन्टजस्ता वस्तुको उपयोगमा प्रोत्साहन गर्ने, सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत् महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ ।

समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, राष्ट्रहित र नागरिक हितलाई सर्वोपरी राखी राज्य सञ्चालन गर्ने बताएको उक्त पार्टीले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर्ने दावी गरेको छ ।

‘स्वच्छ पानी, सफा वातावरण, खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ भन्ने नारा दिएको एमालेले सिँचाइका लागि वर्षायाममा बिजुली महसुलमा ५० प्रतिशत र हिउँदमा २५ प्रतिशत छुट दिने योजना रहेको बताएको छ ।

आगामी तीन वर्षमा सतह तथा भूमिगत सिँचाइबाट तराई मधेशमा थप तीन लाख हेक्टर जमिन सिञ्चित गर्ने, वैदेशिक रोजगारीमा फर्केका नेपालीलाई ऋण तथा सहुलियतका योजना ल्याउने सो पार्टीको दावी छ ।
एक सय खर्बको अर्थतन्त्र बनाउने एमालेको दाबी
आगामी पाँच वर्षभित्र  एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पुर्याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

हाल ४८ खर्ब बराबरको जिडीपी रहेको छ । पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर दुई हजार चार सय बराबर पुुर्याउने लक्ष्य समेत सो दलले राखेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा प्रारम्भमा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र आगामी पाँच वर्षभित्र त्यसलाई दुई अङ्कमा पुर्याउने लक्ष्य राखिएको छ ।

नेपाली अर्थतन्त्रलाई विश्वको उदीयमान अर्थतन्त्र बनाउने सो दलले उल्लेख गरेको छ । उद्योग व्यवसाय दर्ताका लागि आवेदन परेको सात दिनभित्रै स्वीकृति दिने, स्वीकृति दिन नसकिने भए कारण खोली त्यसको जानकारी दिने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ ।

कृषि तथा वन, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र भौतिक पूर्वाधारलाई आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा विकास गर्ने उल्लेख गरेको सो दलले सार्वजनिक, सहकारी, निजीलगायतका सबै माध्यमबाट आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन वृद्धि गर्ने योजना अगाडि सारेको छ ।

राष्ट्रिय बचत वृद्धि गरी लगानीको दायरा विस्तार गर्ने र स्थायित्वसहितको सुदृढ अर्थतन्त्र निर्माण गर्ने, ठूला पूर्वाधारमा लगानी विस्तार गर्ने, प्राकृतिक स्रोत, साधन, पूँजी, जनशक्ति र प्रविधिको पूर्ण परिचालन गर्दै जिडिपीमा प्रदेशको योगदानमा रहेको असन्तुलन घटाउने नीति अबलम्वन गर्ने लक्ष्य राखेको छ ।

‘दिगो आर्थिक विकास, उच्च आर्थिक वृद्धिदर’ भन्ने नारा तय गरेको सो पार्टीले समातामूलक न्यायपूर्ण समाजको सुदृढ आधार तयार पार्ने र नेपाली अर्थतन्त्रको विस्तार गर्ने विषयलाई घोषणापत्रमा समावेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *