वीरगन्ज :

‘नालापानी’ फिल्मलाई कर छुट गराउन बोर्डको पहल

श्रेणी : मनोरञ्जन

3 years
birgunj report
62Views
0 Shares

काठमाडौं । नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको लडाइँमा आधारित रहेर निर्माण गरिएको ‘नालापानी’ लाई कर छुट गराउन पहल सुरू भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसँग भेट गर्दै कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन् । “ हाम्रो आग्रहमा सचिव ज्यूले अर्थ मन्त्रालयमा कर छुटको अनुरोधसहित पत्राचार गर्नुभएको छ ।

बोर्डले विशेष चलचित्र घोषणा गरी सम्मान गरिसकेकोले यो कर छुट योग्य छ,” बोर्ड अध्यक्ष केसीले भने । उनले हलमा देखाइने विज्ञापन लगायतका अन्य विषयमा सहजीकरणका लागि पहल गरेका छन् । फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले बोर्डले गरेको पहलले ऊर्जा मिलेको बताए ।

“यो फिल्म मात्र नभइ नेपाली वीरताको इतिहास हो । यस्ता विषयवस्तुलाई फिल्म बनाउँदा अन्य देशमा राज्यले सेवा सुविधा दिने गरेका छन् । यहाँ पहल भएको छ । म जस्तै अन्य लगानी गर्न इच्छुक निर्मातालाई यसले अगाडि बढ्न सहयोग गर्छ,” उनले भने ।

सञ्चार मन्त्रालयमा सचिव, उपसचिव, सहसचिव र चलचित्र विकास बोर्डका अध्यक्षसहितको बैठकमा प्रवद्र्धन, स्थानीय सहितका विभिन्न कर छुटको सन्दर्भमा छलफल भएको निर्देशक अधिकारीले जानकारी दिए ।

नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाइँलाई अहिलेको पुस्तालाई देखाउन र बुझाउन फिल्म निर्माण गरेको निर्देशक अधिकारी बताउँछन् ।

“सीमित प्रविधि, बजारले गर्दा हाम्रो मेकिङमा असर गर्छ । यद्यपि हामीले सक्दो मेहनत गरेका छौँ,” उनले भने । उनले झण्डै नौ वर्ष लगाएर फिल्म तयार गरेका हुन्  ।

लेखन तथा अनुसन्धानमा निर्देशक अधिकारीलाई कृष्ण आचार्यले सहयोग गरेका छन् । प्रा डा धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविद् प्रा डा धनराज कुँवर, प्रा डा त्रिरत्न मानन्धर, प्रा दिनेशराज पन्त, प्रा डा सुरेन्द्र केसी, पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातसँग छलफल गरेर नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ मा आधारित रहेर ‘नालापानी’ तयार पारिएको निर्देशक अधिकारीले बताए ।

देशभक्त खनाल, अर्जुनजङ शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सारिता राजोपाध्याय, लक्ष्मीनाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत विष्ट, युगजङ कार्की, सिमन खड्का, सुशील खड्का, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकार एन्ड्रोइन डङ्कन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *