वीरगन्ज :

वामदेवको पार्टीले कसैलाई पनि समर्थन नगर्ने

श्रेणी : राजनीति

3 years
birgunj report
193Views
0 Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमले सत्ता र प्रतिपक्ष दुवै गठबन्धनको उद्देश्य सत्तामा पुग्ने मात्र भएको बताएका छन् । विज्ञप्ति जारी गरी गौतमले सिद्धान्त, विचार, नीति, योजना र देश विकासको स्पष्ट खाकाविहीन अवस्थामा मुलुकका मुख्य राजनीतिक पार्टीहरू दुई गठबन्धनमा आबद्ध भएको बताएका छन्।

दुवै गठबन्धनको उच्चतम् उद्देश्य आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्नेबाहेक अरु केही नरहेको बताएका हुन् । गौतमले दुवै गठवन्धन बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावनाको विरुद्ध रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्,‘यी दुई गठबन्धनका क्रियाकलापले नेपालको संविधानको अक्षर र भावनाको खिल्ली उडाएको स्पष्ट हुन्छ । यस्तो अवस्थामा हाम्रो पार्टीले कुनै पनि पार्टीलाई समर्थन गरेर मतदान गर्न सकिने अवस्था रहेन।’

गौतमले आफ्ना कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई मतदानमा स्वविवेक प्रयोग गर्न पनि आग्रह गरेका छन्। मतदान गर्नुपूर्व स्थानीय तहका जनतालाई गोलबन्द गरी सम्बन्धित जिल्ला र क्षेत्रको निर्माण र विकास सम्बन्धी समस्या समाधान गर्न सम्बन्धित उम्मेदवारलाई लिखित रूपमा प्रतिबद्ध गराउने कामको अगुवाइ गर्न उनले निर्देशन दिएका छन् ।

गौतमले उम्मेदवारबाट व्यक्तिगत स्वार्थ पूरा गर्ने वा कुनै लेनदेनको कार्य नगर्न र भोजभतेरमा सहभागी नहुन पनि पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। गठबन्धनमा आबद्ध करिब १० पार्टीले मतदातालाई झुक्याउन आ–आफ्ना चुनावी घोषणापत्र जारी गर्नुको कुनै औचित्य नहुने भन्दै गौतमले गठबन्धनको साझा घोषणा पत्र पनि दिन नसकेको टिप्पणी गरेका छन् । सत्तारुढ गठबन्धनबाट केही सिट लिएर चुनावमा होमिने तयारीमा रहेका गौतम सोचेअनुरूप नभएपछि असन्तुष्ट देखिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *