वीरगन्ज :

संघीय सरकारको सहमतिबिनै भारत भ्रमणमा गए मधेसका मुख्यमन्त्री यादव

श्रेणी : धर्म संस्कृति

2 hours
Pradeep Sah
2.2kViews
1418 Shares

वीरगन्ज,०८ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव संघीय सरकारको पूर्वसहमति नलिई भारत भ्रमणमा गएको खुलेको छ। मुख्यमन्त्री यादवले भने आफ्नो भ्रमण व्यक्तिगत तथा धार्मिक प्रकृतिको भएकाले संघीय सरकारको स्वीकृति आवश्यक नपर्ने बताएका छन्।

प्रदेशका गृहमन्त्री फकिरा महतोका अनुसार मुख्यमन्त्री यादव गत शुक्रबार भारतको देवघरस्थित प्रसिद्ध बाबा वैद्यनाथ धाम (बाबाधाम) पुगेका थिए। भ्रमणमा प्रदेश सरकारका केही मन्त्री र मुख्यमन्त्रीका स्वकीय सचिवसमेत सहभागी रहेको उनले जानकारी दिए।

भारत भ्रमणका क्रममा मुख्यमन्त्री यादव धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भएको बताइएको छ। उनी आइतबार राति नै मधेस प्रदेश फर्किसकेका छन्।

प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले विदेश भ्रमणमा जाँदा संघीय सरकारसँग समन्वय तथा आवश्यक स्वीकृति लिने अभ्यास रहँदै आएको छ। यसअघि मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र सतिश सिंहको विदेश भ्रमणका लागि संघीय सरकारबाट स्वीकृति दिइएको अभिलेखसमेत रहेको बताइएको छ।

तर, मुख्यमन्त्री यादवको पछिल्लो भारत भ्रमणका लागि संघीय सरकारबाट कुनै निर्णय वा स्वीकृति नभएको जनाइएको छ।

मुख्यमन्त्री यादवले भ्रमण सरकारी नभई व्यक्तिगत तथा धार्मिक भएकाले संघीय सरकारको अनुमति लिन आवश्यक नरहेको तर्क गरेका छन्। यद्यपि, उनको भ्रमणले प्रदेशका पदाधिकारीको विदेश भ्रमणमा संघीय सरकारसँगको समन्वय तथा स्वीकृतिसम्बन्धी प्रक्रियाबारे प्रश्न उठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *