बीरगन्ज,०८ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय नाबालिग आरोपितको गोप्य भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान प्रक्रियाको गोपनीयतामाथि प्रश्न उठेको छ।
प्रादेशिक अस्पताल कलैयास्थित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा स्वास्थ्य परीक्षण तथा परामर्शका क्रममा खिचिएको भनिएको भिडियो आइतबार रातिदेखि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको हो।
प्रहरी नियन्त्रणमा रहेका नाबालिग आरोपितले हतकडी लगाएको अवस्थामा दिएको बयान भिडियोमा सुनिन्छ। उनले घटनामा आफ्नो संलग्नतासँगै प्रदीप खड्का नाम गरेका अर्का व्यक्तिको समेत संलग्नता रहेको दाबी गरेको देखिन्छ।
ओसीएमसी कक्ष संवेदनशील प्रकृतिको भएकाले त्यहाँ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिको प्रवेशमा प्रतिबन्ध हुने गरेको छ। त्यसैले भिडियो अस्पतालमा कार्यरत कर्मचारी वा सुरक्षामा खटिएका प्रहरीमध्ये कसैबाट खिचिएर बाहिरिएको हुनसक्ने आशङ्का गरिएको छ।
भिडियो सार्वजनिक भएपछि प्रादेशिक अस्पताल कलैयामा घटनाबारे छानबिन गर्न आकस्मिक बैठकसमेत बोलाइएको छ।
बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले नाबालिग आरोपितको स्वास्थ्य परीक्षणका क्रममा खिचिएको भिडियो बाहिरिएको पुष्टि गर्दै भिडियो कसले र कुन उद्देश्यले सार्वजनिक गरेको हो भन्ने विषयमा गम्भीर अनुसन्धान भइरहेको बताएका छन्।
प्रहरीले भिडियो सार्वजनिक गर्ने व्यक्तिको पहिचान तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया