वीरगन्ज :

पर्सा निकुञ्जमा बाघ संरक्षणलाई प्राथमिकता, सीएटीएस प्रमाणीकरण अघि बढाइयो

श्रेणी : मधेस

1 hour
Pradeep Sah
2.9kViews
1224 Shares

वीरगञ्ज,०८ भदौ । पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएपछि संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन ‘कन्जर्भेसन एस्योर्ड टाइगर स्ट्यान्डर्ड’ (सीएटीएस) प्रमाणीकरण प्रक्रिया सुरु गरिएको छ।

सन् २०२२ मा ४१ वटा वयस्क बाघ रहेको पर्सा निकुञ्जमा सन् २०२६ को गणनाअनुसार बाघको सङ्ख्या बढेर ७१ पुगेको छ। बाघको सङ्ख्या वृद्धि संरक्षणको महत्वपूर्ण उपलब्धि भए पनि त्यसलाई दीर्घकालीन रूपमा कायम राख्न आवश्यक व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउन सीएटीएस प्रक्रिया अघि बढाइएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा भएको सीएटीएस कार्यशालामा विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, जेडएसएल नेपाल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सुरक्षा निकाय, निकुञ्ज कर्मचारी, उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाको सहभागिता थियो।
कार्यशालामा सीएटीएसको प्रारम्भिक तयारी, स्वमूल्याङ्कन, व्यवस्थापन सुधार, प्रमाण सङ्कलन र सरोकारवालाबीच समन्वयका विषयमा छलफल गरिएको थियो।

वरिष्ठ इकोलोजिस्ट आचार्यले बाघको सङ्ख्या बढ्नु मात्र संरक्षणको सफलता नभएको भन्दै बाघको बासस्थान, आहारा, सुरक्षा र समग्र व्यवस्थापनको गुणस्तर निरन्तर सुधार गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार सीएटीएसले बाघको सङ्ख्यासँगै संरक्षणका लागि आवश्यक समग्र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डका आधारमा मूल्याङ्कन गर्छ।

प्रमुख संरक्षण अधिकृत खतिवडाले चार वर्षको अवधिमा पर्सामा बाघको सङ्ख्या ४१ बाट ७१ पुग्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै अब बाघसँगै स्थानीय समुदायको सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

उहाँले संरक्षणबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउनुपर्नेमा जोड दिँदै निकुञ्जको ‘बाघ मित्र अभियान’लाई सीएटीएस प्रक्रियासँग जोडेर मानव–बाघ सहअस्तित्व, समुदायको सुरक्षा, सचेतना र सहभागितालाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो।

सीएटीएस प्रमाणीकरणका क्रममा बाघको सङ्ख्यासँगै बासस्थान, आहारा, चोरी–सिकार नियन्त्रण, सुरक्षा, वैज्ञानिक अनुगमन, मानव–बाघ द्वन्द्व व्यवस्थापन, समुदायको सहभागिता, पर्यटन तथा बाघको दीर्घकालीन अवस्थालगायत विषयको समग्र मूल्याङ्कन गरिनेछ।

प्रक्रियाअन्तर्गत दर्ता, स्वमूल्याङ्कन, सुधार योजना निर्माण, आवश्यक दस्तावेज तयारी, राष्ट्रिय समीक्षा, स्वतन्त्र मूल्याङ्कन हुँदै अन्तर्राष्ट्रिय निर्णयसम्मका चरण पूरा गरिनेछ। यस क्रममा बासस्थान तथा आहारा संरक्षण, स्मार्ट पेट्रोलिङ, चोरी–सिकार नियन्त्रण, मानव–बाघ द्वन्द्व न्यूनीकरण र समुदायको सहभागितालाई प्राथमिकता दिइने निकुञ्जले जनाएको छ।

सरोकारवालाले सीएटीएसलाई केवल प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियाका रूपमा नभई निकुञ्ज, मध्यवर्ती क्षेत्र, सुरक्षा निकाय, संरक्षण साझेदार र स्थानीय समुदायको साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत खतिवडाले संरक्षणको वास्तविक सफलता प्रमाणपत्र प्राप्त गर्नुमा मात्र नभई बाघ सुरक्षित हुनु, वन क्षेत्र स्वस्थ रहनु र स्थानीय समुदाय सुरक्षित हुँदै संरक्षणका सक्रिय साझेदार बन्नुमा निर्भर रहने बताउनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *