वीरगन्ज :

राउन्ड टेबल नेपालको नयाँ नेतृत्व चयन, साकेत मुरारकाको अध्यक्षतामा सामाजिक अभियान अघि बढाइने

श्रेणी : समाचार

1 hour
Pradeep Sah
2.9kViews
1666 Shares

राउन्ड टेबल नेपालको २६औँ राष्ट्रिय वार्षिक साधारण सभा वीरगञ्जमा सम्पन्न भएको छ। साधारण सभाले साकेत मुरारकालाई संस्थाको नयाँ राष्ट्रिय अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि नयाँ राष्ट्रिय कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रोहित अग्रवाल, सचिवमा भास्कर सोनी, कोषाध्यक्षमा धिरज अग्रवाल, सम्पादकमा राहुल अग्रवाल, अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारीमा कृष्ण अटल तथा निवर्तमान अध्यक्षमा सुमित मित्तल चयन भएका छन्।

नवनिर्वाचित राष्ट्रिय अध्यक्ष मुरारकाले राउन्ड टेबल १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको नेतृत्व विकास र सामाजिक सेवामा केन्द्रित संस्था रहेको बताए। ‘आत्मसात् गरौँ, अनुकूलन गरौँ, सुधार गरौँ’ भन्ने मूल भावनाका साथ समाजका विद्यमान चुनौती पहिचान गरी स्थानीय आवश्यकता र परिस्थितिअनुसार प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै अघि बढ्ने उनको भनाइ छ।

उनले आगामी कार्यकालमा संस्थाका सामाजिक कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासका क्षेत्रमा थप परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

राउन्ड टेबल नेपालले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी कार्यकालमा भने समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको संस्थाले जनाएको छ।

यसैक्रममा विद्यालयको शैक्षिक तथा भौतिक स्तरवृद्धि गर्दै ‘राउन्ड टेबल नेपाल नमुना विद्यालय’ स्थापना गर्ने योजना अघि सारिएको छ। साथै आर्थिक रूपमा विपन्न तथा अवसरबाट वञ्चित बालबालिकाका लागि छात्रवृत्ति सहयोग उपलब्ध गराउने कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ।

त्यस्तै, संस्थाले ‘स्वाप’ नामक नयाँ परियोजना अघि सारेको छ। परियोजनाअन्तर्गत पुनःप्रयोग तथा पुनर्चक्रण गर्न मिल्ने विभिन्न सामग्री संकलन गरी त्यसबाट प्राप्त रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गरिनेछ। ‘बालबालिकालाई शिक्षित गरौँ, स्वच्छ पृथ्वी निर्माण गरौँ’ भन्ने उद्देश्यका साथ अघि बढाइने यस अभियानले शिक्षा र वातावरण संरक्षणलाई एकसाथ जोड्ने संस्थाको लक्ष्य छ।

सदस्यहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि विभिन्न तालिम, कार्यशाला, अन्तरक्रिया तथा सीप विकाससम्बन्धी कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ। यस्ता कार्यक्रममार्फत सदस्यहरूबीचको सम्बन्ध थप सुदृढ गर्दै उनीहरूलाई सक्षम र जिम्मेवार नेतृत्वकर्ताका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

नवनिर्वाचित अध्यक्ष मुरारकाले राउन्ड टेबल नेपाललाई सामाजिक उत्तरदायित्वका क्षेत्रमा अझ प्रभावशाली संस्थाका रूपमा स्थापित गर्दै समुदायको आवश्यकता र अपेक्षाअनुसार कार्यक्रम विस्तार गर्ने बताए। युवाको ऊर्जा, सीप र नेतृत्व क्षमतालाई सामाजिक परिवर्तनमा उपयोग गर्ने दिशामा संस्थाले आगामी दिनमा थप सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

२६औँ राष्ट्रिय वार्षिक साधारण सभाबाट नयाँ राष्ट्रिय नेतृत्व चयन भएसँगै राउन्ड टेबल नेपालले शिक्षा, वातावरण संरक्षण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासका क्षेत्रमा आफ्नो अभियानलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *