वीरगन्ज :

पत्रकारमाथि मुद्दा र पक्राउ पुर्जीको घटनाप्रति प्रेस चौतारी नेपालको गम्भीर आपत्ति

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.0kViews
1040 Shares

वीरगञ्ज । प्रेस चौतारी नेपाल पर्सा शाखाले पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध मुद्दा दर्ता गर्ने र पक्राउ पुर्जी जारी गर्ने घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

शाखाका सचिव कृष्ण कुशवाहाद्वारा जारी प्रेस विज्ञप्तिमा रातोपाटी अनलाइनका सम्पादक/सञ्चालक अध्यक्ष तथा प्रहार डेली अनलाइनका सम्पादक/सञ्चालकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको घटनाले प्रेस स्वतन्त्रता, पत्रकारको निर्भीकता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष दबाब सिर्जना गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा सार्वजनिक पदमा रहेका व्यक्ति वा जनप्रतिनिधिका गतिविधिमाथि प्रश्न उठाउने, तथ्य सार्वजनिक गर्ने तथा सम्बन्धित पक्षको धारणा समेटेर समाचार सम्प्रेषण गर्नु पत्रकारको संवैधानिक अधिकार र पेशागत दायित्व भएको जनाइएको छ। प्रकाशित समाचारप्रति असहमति वा गुनासो भए कानुनी र संस्थागत उपचारका पर्याप्त विकल्प हुँदाहुँदै पत्रकारलाई तर्साउने र दबाबमा पार्ने कार्य स्वीकार्य हुन नसक्ने प्रेस चौतारीको धारणा रहेको छ।

त्यस्तै, पत्रकारलाई अदालतमा उपस्थित भई साधारण तारेखमा रिहा भइसकेको अवस्थालाई समेत अप्रिय ढङ्गले प्रस्तुत गर्दै प्रेसलाई मौन गराउने र निर्भीक पत्रकारिताको मनोबल गिराउने प्रयास गरिएको विज्ञप्तिमा आरोप लगाइएको छ। यस्तो कार्य प्रेस स्वतन्त्रताको मर्म र नेपालको संविधानले सुनिश्चित गरेको मौलिक अधिकारविपरीत रहेको समेत उल्लेख गरिएको छ।

प्रेस चौतारी नेपाल पर्सा शाखाले सञ्चार संस्था तथा पत्रकारमाथि बनाइएको अनावश्यक दबाब, धरपकड र भयको वातावरण तत्काल अन्त्य गर्न तथा घटनाको निष्पक्ष समीक्षा गर्न सम्बन्धित सबै पक्षसँग जोडदार माग गरेको छ। साथै प्रेस स्वतन्त्रताको रक्षाका लागि आवश्यक परे कडा प्रतिवाद र आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *