वीरगन्ज :

रौतहटमा १७ ग्यास डिलरमा छड्के अनुगमन

श्रेणी : BANNER

7 hours
Pradeep Sah
2.1kViews
1430 Shares

रौतहट,२४ साउन । खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित बनाउन रौतहटमा ग्यास डिलर तथा विक्रेताका पसलमा छड्के अनुगमन गरिएको छ ।

गृह मन्त्रालयको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा सुरक्षा निकायसहितको टोलीले जिल्लाका विभिन्न बजार क्षेत्रमा रहेका ग्यास डिलर तथा विक्रेताका पसलमा आकस्मिक अनुगमन गरेको हो ।

अनुगमनका लागि दुईवटा टोली परिचालन गरी गौर, गरुडा र चन्द्रनिगाहपुरलगायतका क्षेत्रमा रहेका १७ वटा ग्यास डिलर तथा विक्रेताका पसल निरीक्षण गरिएको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा सुपर, नेपाल सहारा, सहारा, बाबा, नोबेल, नेपाल सुपर र नेपाल ग्यासलगायतका डिलरमा पुगेर ग्यासको आपूर्ति, भण्डारण र वितरणको अवस्थाबारे जानकारी लिइएको थियो ।

शनिबार गरिएको अनुगमनका क्रममा अधिकांश विक्रेताका स्टोरमा भरिएका सिलिन्डरको तुलनामा खाली सिलिन्डरको संख्या धेरै रहेको पाइएको छ । व्यवसायीहरूले उद्योगबाट पर्याप्त मात्रामा ग्यास आपूर्ति हुन नसकेको र मागअनुसार ग्यास उपलब्ध नभएको बताएका थिए ।

ग्यास उपलब्ध भएपछि अधिकांश विक्रेताले प्रहरीको रोहबरमा पसल अगाडिबाटै उपभोक्तालाई वितरण गर्ने गरेको समेत अनुगमनका क्रममा पाइएको प्रशासनले जनाएको छ । व्यवसायीहरूसँग ग्यास आपूर्तिमा भइरहेको ढिलाइ र मागको तुलनामा कम परिमाणमा ग्यास आउने अवस्थाबारे समेत जानकारी लिइएको थियो ।

अनुगमन टोलीले ग्यास उपलब्ध भएपछि उपभोक्तालाई पारदर्शी, व्यवस्थित र सहज ढंगले वितरण गर्न व्यवसायीलाई निर्देशन दिएको छ । साथै, कृत्रिम अभाव सिर्जना नगर्न, उपभोक्तालाई अनावश्यक दुःख नदिन र प्राप्त ग्यास उचित तरिकाले वितरण गर्न सचेत गराइएको छ ।

अनुगमन टोलीमा सीडीओ भुसालसँगै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी तथा स्थानीय तह र अन्य सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।

ग्यासको आपूर्ति, भण्डारण तथा वितरण प्रणालीमा निगरानी बढाउन प्रशासनले नियमित अनुगमनसँगै आकस्मिक छड्के अनुगमनलाई पनि निरन्तरता दिने जनाएको छ । उपभोक्ताको गुनासो, ग्यासको उपलब्धता र वितरणको अवस्थालाई आधार बनाएर जुनसुकै बेला अनुगमन गर्न सकिने प्रशासनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *