वीरगन्ज :

कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ

श्रेणी : BANNER

6 hours
Pradeep Sah
1.8kViews
1859 Shares

सुनसरी,२४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

भारततर्फ भाग्ने क्रममा रहेका उनीहरूलाई भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) ले नियन्त्रणमा लिएर शनिबार नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार घटनामा उनीहरूको संलग्नता र भूमिकाबारे अनुसन्धान गर्न नियन्त्रणमा लिइएको हो ।

‘कप्तानगञ्ज घटनालाई लिएर ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ डीएसपी खड्काले भने, ‘उनीहरूको घटनामा कस्तो भूमिका थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन । घटनाको अनुसन्धानका क्रममा थप व्यक्तिहरूको संलग्नता खुलेमा उनीहरूलाई समेत पक्राउ गरी कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

कप्तानगञ्जमा केही समयअघि भएको विवाद हिंसात्मक बनेपछि भएको घटनामा तीन जनाको मृत्यु भएको थियो भने करिब ४० जना घाइते भएका थिए । घटनापछि स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो ।

प्रहरीले घटनाको वास्तविक कारण, हिंसा भड्किनुको अवस्था र संलग्न व्यक्तिहरूको भूमिकाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । घटनासँग सम्बन्धित प्रमाण तथा तथ्य संकलन, प्रत्यक्षदर्शीसँग सोधपुछ र पक्राउ परेकाहरूसँग बयान लिने काम भइरहेको प्रहरीको भनाइ छ ।

अनुसन्धानबाट दोषी ठहर हुने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *