वीरगन्ज :

नारायणी अस्पताल प्रकरणमा पक्राउ परे वडा अध्यक्ष चतुर्वेदी, समर्थकद्वारा आन्दोलनको चेतावनी

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.6kViews
1553 Shares

बीरगन्ज,१२ साउन । नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिट घटनाको अनुसन्धानका क्रममा वीरगन्ज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मंगलबार दिउँसो महानगरपालिका कार्यालय परिसरबाट चतुर्वेदीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखी सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज–२५ निवासी राजकुमार कुर्मीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो। सो क्रममा अस्पतालमा तोडफोड हुनुका साथै चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको आरोप छ। घटनामा संलग्नमाथि कारबाही र चिकित्सकको सुरक्षाको माग गर्दै वीरगञ्जसहित देशभरका सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका छन्, जसका कारण अस्पतालको सेवा प्रभावित भएको छ।

यता, वीरगन्ज महानगरपालिकाका सबै वडा अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष चतुर्वेदीलाई बिना सर्त तत्काल रिहा गर्न माग गरेका छन्। उनीहरूले चतुर्वेदीले पीडित परिवारको पक्षमा उभिएर स्थानीय प्रशासनसँग समन्वय गर्ने जिम्मेवारी निर्वाह गरिरहेका बेला पक्राउ गरिएको भन्दै त्यसप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

विज्ञप्तिमा जननिर्वाचित प्रतिनिधिमाथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्दै चतुर्वेदीलाई तत्काल रिहा नगरिए साउन १३ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिइएको छ। साथै, स्थानीय प्रशासनलाई संवाद र सहमतिका माध्यमबाट विवाद समाधान गर्न पनि आग्रह गरिएको छ।

प्रहरी स्रोतका अनुसार नारायणी अस्पताल घटनामा वडा अध्यक्ष चतुर्वेदीसहित हालसम्म तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *