बीरगन्ज,१२ साउन । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा तोडफोड तथा त्यसपछिको घटनामा प्रशासनको भूमिकाप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले मंगलबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। यसको प्रत्यक्ष असर बाराको प्रादेशिक अस्पताल कलैयामा पनि परेको छ।
चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालको ओपिडी सेवा पूर्ण रूपमा बन्द भएको छ। उपचारका लागि बिहानैदेखि अस्पताल पुगेका बिरामीहरू स्वास्थ्य परीक्षण गराउन नपाई निराश हुँदै घर फर्किन बाध्य भएका छन्। यद्यपि आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।
नारायणी अस्पतालका चिकित्सकहरूले घटनामा संलग्न व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न, साथै पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) ले राजीनामा दिनुपर्ने माग राखेका छन्। माग पूरा नभएसम्म नियमित स्वास्थ्य सेवा सञ्चालनमा नफर्किने उनीहरूको अडान रहेको छ।
नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको प्रशासनिक व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको हो।
गत साउन ९ गते वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अस्पताल परिसरमा तोडफोड भएको थियो। घटनामा घाइते भएका डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
उक्त घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने मागसहित चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनका कारण कलैयासहित देशभरका विभिन्न सरकारी अस्पतालहरूमा दैनिक स्वास्थ्य सेवा प्रभावित भएको छ भने हजारौं सेवाग्राही उपचारबाट वञ्चित भएका छन्।
यसैबीच, नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष आफ्नो राजीनामा बुझाइसकेका छन्।

प्रतिक्रिया