जनकपुर,०८ साउन । मधेस प्रदेशमा यस वर्षको धान रोपाइँ तीव्र गतिमा अघि बढ्दै साउन ७ गतेसम्म ७८.५९ प्रतिशत सम्पन्न भएको छ। प्रदेशभर करिब तीन लाख ५८० हेक्टर क्षेत्रफलमा धान रोपिएको मधेस प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ।
जिल्लागत रूपमा सिरहामा सबैभन्दा बढी ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम ५५ प्रतिशत मात्र रोपाइँ भएको छ।
निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष समयमै पर्याप्त वर्षा भएकाले किसान उत्साहका साथ रोपाइँमा जुटेका छन्। साथै, किसानहरूले उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको सन्तुलित प्रयोगमा पनि ध्यान दिएका छन्।
यद्यपि, प्रदेशका केही क्षेत्रमा सिँचाइ पूर्वाधारको अभाव र मलको आपूर्तिमा समस्या रहेको भन्दै किसानहरूले गुनासो गरेका छन्। कृषि अधिकारीहरूले बाँकी क्षेत्रमा पनि छिट्टै रोपाइँ सम्पन्न हुने अपेक्षा गरेका छन्।

प्रतिक्रिया