वीरगन्ज,०७ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्नो मातहतका सबै प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी तथा प्राधिकरणमा कार्यरत कर्मचारीलाई आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको छ।
मन्त्रालयअन्तर्गतको सरकारी उद्योग तथा संस्थान शाखाले जारी गरेको सूचनामा भ्रष्टाचार निवारणसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन गर्न तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण बुझाउन सबै मातहतका निकायलाई भनिएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पदमा रहेका प्रत्येक व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
सोही व्यवस्था कार्यान्वयनका लागि मन्त्रालयले चालु आर्थिक वर्षको सम्पत्ति विवरण व्यवस्थित रूपमा सङ्कलन गरी पेस गर्न निर्देशन दिएको छ। यस आर्थिक वर्षमै सेवा निवृत्त भएका कर्मचारीहरूको सम्पत्ति विवरणसमेत सम्बन्धित निकायले सङ्कलन गरी एकमुष्ट रूपमा मन्त्रालयमा पठाउन भनिएको छ।
मन्त्रालयले सम्पत्ति विवरण पेस गर्दा केही प्राविधिक मापदण्ड पनि अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ। नयाँ नियुक्त कर्मचारीलाई सम्बन्धित कार्यालयले सङ्केत नम्बर उपलब्ध गराउनुपर्ने र हाल कार्यरत कर्मचारीले आफ्नो कायम रहेको सङ्केत नम्बर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रले सञ्चालन गरेको आधिकारिक सफ्टवेयरमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
विवरण पेस गर्दा इन्टु–९ साइजको खाम प्रयोग गर्नुपर्ने र खामको बाहिरी भागमा आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण, कर्मचारीको सङ्केत नम्बर, कार्यरत निकाय, पूरा नाम, थर तथा सम्पर्क नम्बर स्पष्ट रूपमा उल्लेख गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले तोकिएको प्रक्रिया र समयसीमाभित्र सम्पत्ति विवरण पेस गरी कानुनी दायित्व पूरा गर्न सबै कर्मचारी तथा मातहतका निकायलाई आग्रह गरेको छ।

प्रतिक्रिया