सिरहा,०७ साउन । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार कार्यालय परिसरमै सेवाग्राहीबाट घुस बुझ्ने क्रममा उनलाई रंगेहात नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट)का क्रममा अधिकृत पालले अडिट प्रक्रिया सहज बनाइदिने भन्दै घुस मागेका थिए। स्रोतका अनुसार उनले सुरुमा आफूभन्दा माथिका अधिकारीहरूलाई समेत मिलाउनुपर्ने भन्दै ५ लाख रुपैयाँ माग गरेका थिए।
अडिटका क्रममा कम्पनीमाथि कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ दायित्व देखिएको थियो। थप कागजात परीक्षणपछि उक्त दायित्व अझ बढ्न सक्ने जनाइएको थियो।
त्यसपछि कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सम्पूर्ण समस्या समाधान गरिदिने प्रस्ताव राखेको आरोप छ। कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति भएको बताइएको छ।
घुस रकम बुझाउने क्रममा विभिन्न स्थानमा भेट्ने प्रयास भए पनि अन्ततः अधिकृत पालले रकम कार्यालयमै ल्याउन भनेका थिए। सेवाग्राहीबाट कार्यालयमै ५ लाख रुपैयाँ बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पाललाई घुससहित नियन्त्रणमा लिइएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया