बीरगन्ज,०६ साउन । दाइजो प्रथा अन्त्य गर्ने उद्देश्यका साथ मधेश प्रदेशबाट राष्ट्रिय जनचेतना अभियान सुरु गर्ने तयारी गरिएको छ। यस विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबीच मन्त्रालयमा विस्तृत छलफल भएको हो।
छलफलमा पहिलो चरणमा मधेश प्रदेशबाट अभियान सुरु गरी त्यसलाई क्रमशः देशभर विस्तार गर्ने सहमति भएको छ। अभियानअन्तर्गत स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा तथा महिला समूहको सहभागितामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको छ।
छलफलका क्रममा दुवै नेतृले दाइजो प्रथालाई महिला हिंसा, लैङ्गिक विभेद र सामाजिक अन्यायको प्रमुख कारणका रूपमा उल्लेख गर्दै यसको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै समाजमा चेतना अभिवृद्धि आवश्यक रहेको बताएका छन्।
मन्त्री सिता बादीले दाइजो प्रथा नियन्त्रणका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै समाजको सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिइन्।
उपसभामुख रुबी कुमारीले दाइजोमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारसँगै सबै सरोकारवाला निकायको सक्रिय सहकार्य आवश्यक रहेको बताउँदै सामूहिक प्रयासबाट मात्रै दाइजोमुक्त नेपाल निर्माण सम्भव हुने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया