वीरगन्ज :

फेसबुक–मेसेन्जरमार्फत २ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पर्साका दुई जना पक्राउ

श्रेणी : अपराध

5 days
Pradeep Sah
2.3kViews
1848 Shares

वीरगन्ज,०६ साउन । फेसबुक र मेसेन्जरमार्फत नक्कली सामाजिक सञ्जाल खाता प्रयोग गरी २ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बाराको फेटा गाउँपालिका–४ स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१६ मा बसोबास गर्दै आएका ४९ वर्षीय शिवपुजन बैठाले आफू ठगीमा परेको भन्दै दिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार वैदेशिक रोजगारीका क्रममा बेलायत (लन्डन)मा रहेका रौतहटका सञ्जय पटेलको फोटो र परिचय दुरुपयोग गरी नक्कली फेसबुक अकाउन्ट तथा मेसेन्जर आईडी सञ्चालन गरिएको थियो। सोही नक्कली अकाउन्टबाट ‘समस्यामा परेको छु’ भन्दै विभिन्न बहाना बनाएर शिवपुजन बैठासँग २ लाख ५० हजार रुपैयाँ ठगी गरिएको आरोप छ।

अनुसन्धानका क्रममा सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने, अरू व्यक्तिको नाममा बैंक खाता र सिमकार्ड प्रयोग गरी अनलाइन ठगी गर्ने गिरोहसँग संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–१ निवासी २० वर्षीय जस्मुदिन अन्सारी र पर्साको बहुदरमाई नगरपालिका–१ निवासी २० वर्षीय विशाल पटेल रहेका छन्। उनीहरूलाई साउन २ गते वीरगञ्ज महानगरपालिका–८ बाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *