श्रेणी : मधेस
एसके.चौरसिया
वीरगन्ज ६ श्रावण । सञ्चार माध्यममा प्रसारित समाचारको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चार माध्यमलाई पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
वीरगञ्जबाट प्रसारण हुने My TV मा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ को सिफारिसका आधारमा एक महिलाको नागरिकताबाट पतिको नाम हटाइएको विषयसम्बन्धी समाचार प्रसारण भएको थियो। उक्त समाचारका विषयमा वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालय, पर्सामा दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले तथ्य पेश गर्न भन्दै सञ्चारमाध्यमलाई पत्र काटेकोप्रति महासंघले आपत्ति जनाएको छ।
नेपाल पत्रकार महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कुनै पनि सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति सम्बन्धित पक्षको असहमति वा गुनासो भएमा सर्वप्रथम खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया पठाउने र त्यसबाट पनि चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिल नेपालमा उजुरी दिई कानूनी उपचार खोज्ने स्पष्ट प्रावधान विद्यमान छ।”
कानूनले तोकेको प्रक्रिया र नियमनकारी निकायको प्रयोग नगरी स्थानीय प्रशासनसमक्ष उजुरी दिनु र सोही उजुरीका आधारमा प्रहरीले सञ्चारमाध्यमलाई पत्र काट्नु विधिसम्मत अभ्यास नभएको महासंघको ठहर छ। यसले कानूनी उपचारको प्रक्रियालाई ओझेलमा पार्नुका साथै सञ्चारमाध्यममाथि अनावश्यक दबाब सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने नियत देखिएको विज्ञप्तिमा उल्लेख छ।
संविधानद्वारा प्रत्याभूत पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप नगर्न आग्रह गर्दै महासंघले प्रचलित कानूनी व्यवस्थाको सम्मान गर्न सबै पक्षसँग अपिल गरेको छ। यदि सञ्चारमाध्यम वा सञ्चारकर्मीमाथि मानसिक दबाब सिर्जना गर्ने र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने यस्ता प्रवृत्ति निरन्तर दोहोरिएमा स्वतन्त्र प्रेस र पत्रकारको पेशागत अधिकार रक्षाका लागि महासंघ संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया