बारा,०४ साउन । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ बलुवाकी राजेन्द्र महतोकी छोरी लालु कुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनी केही दिनदेखि मामाघर चौरहियामा बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार आइतबार साँझ करिब ५ः३० बजे मामाघर पछाडि रहेको स्थानीय तारा चन्द साहको धान खेतमा खेल्ने क्रममा जमेको पानीमा डुबेर उनी गम्भीर भएकी थिइन्।
परिवारले तत्काल उद्धार गरी बाहिर निकाले पनि उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी चौकी बड्कीफुलबरियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट फरेन्सिक विज्ञसहितको टोलीले घटनास्थलको अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ।
बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया