वीरगन्ज :

अनुदान रकम जोखिममा परेपछि रौतहटका उखु किसान आन्दोलनमा उत्रिए

श्रेणी : कृषि

3 hours
Pradeep Sah
2.7kViews
1845 Shares

रौतहट,३२ असार । सरकारले उपलब्ध गराउने उखु अनुदान प्रशासनिक ढिलासुस्तीका कारण गुम्ने जोखिममा परेको भन्दै रौतहटका उखु किसान आन्दोलनमा उत्रिएका छन्। करिब ७ करोड रुपैयाँ बराबरको अनुदान अन्योलमा परेपछि किसानहरूले बुधबार साँझ गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत गरुडा नगरपालिका स्थित झाँझ पुलमा करिब चार घण्टा चक्काजाम गरेका हुन्।

उखु उत्पादक किसान संघ रौतहटको नेतृत्वमा भएको आन्दोलनका क्रममा किसानहरूले टायर बालेर सडक अवरुद्ध गरेका थिए, जसका कारण उक्त सडकखण्डमा सवारी आवागमन केही समय पूर्ण रूपमा प्रभावित भएको थियो।

सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरे पनि आवश्यक सिफारिस असार मसान्तभित्र सम्बन्धित मन्त्रालयमा नपुग्ने अवस्था बनेपछि रौतहटका करिब ४ हजार ७० किसान अनुदानबाट वञ्चित हुने जोखिममा परेका छन्।

उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोककुमार यादवका अनुसार जिल्लाका किसानले करिब ७ करोड रुपैयाँ बराबरको अनुदान पाउन बाँकी छ। अन्य जिल्लाका किसानले अनुदान पाइसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट समयमै सिफारिस नहुँदा रौतहटका किसान अन्यायमा परेको उनले बताए।

किसानहरूले जिल्ला प्रशासन कार्यालय र सहायक प्रमुख जिल्ला अधिकारी तथा उखु किसान अनुदान सहजीकरण समितिका संयोजक जितेन्द्र यादवको लापरबाहीका कारण सिफारिस प्रक्रिया रोकिएको आरोप लगाएका छन्।

यता प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सहजीकरण समितिबाट समयमै प्रक्रिया पूरा हुन नसक्दा समस्या उत्पन्न भएको स्वीकार गर्दै मन्त्रालयसँग समन्वय भइरहेको र बिहीबारसम्ममा आवश्यक प्रक्रिया टुंग्याइने बताएका छन्।

प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धतापछि किसानहरूले बुधबार राति करिब १० बजे सडक अवरोध हटाएका छन्। तर, वाचा अनुसार काम नभए बिहीबारदेखि चरणबद्ध आन्दोलन पुनः सुरु गर्ने चेतावनी उनीहरूले दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *