काठमाडौं,३२ असार । सरकारले विभिन्न मन्त्रालय तथा निकायका ६ सचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। सरुवासम्बन्धी विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब पोर्टलमा समेत अद्यावधिक गरिएको छ।
निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। उक्त मन्त्रालयमा कार्यरत सचिव राधिका अर्याललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा राखिएको छ।
त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा रहेका डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।
यस्तै, नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई खटाइएको छ। मिश्रको स्थानमा राष्ट्रिय सतर्कता केन्द्रको जिम्मेवारी विश्वबाबु पुडासैनीलाई दिइएको छ।

प्रतिक्रिया