बीरगन्ज,३२ असार । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ थरघटीमा बिहीबार बिहान परेको चट्याङका कारण तीन जना स्थानीय घाइते भएका छन्। राष्ट्रिय वन क्षेत्रसँग जोडिएको स्थानमा पशु चौपाया चराइरहेका बेला उनीहरू चट्याङको चपेटामा परेका हुन्।
इलाका प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक हर्कबहादुर श्रेष्ठका अनुसार बिहान करिब ७:१५ बजे चट्याङ खस्दा दुःखी महतो धाङड, लालबाबु महतो उराँव र सूर्य महतो उराँव घाइते भएका हुन्।
घाइतेमध्ये सूर्य महतो उराँवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको पेट र छातीमा गम्भीर चोट लागेको छ भने अन्य दुई जनाको पनि उपचार भइरहेको छ। तीनै जनालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरी उपचार भइरहेको नारायणी अस्पताल प्रहरी बिटले जनाएको छ।
घटनापछि स्थानीयवासी तथा घाइतेका आफन्तले पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै उपचारका लागि सहयोगको अपिल गरेका छन्।
प्राकृतिक विपद्का यस्ता घटनामा स्थानीय सरकारले विपन्न परिवारलाई तत्काल राहत तथा उपचार खर्च उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

प्रतिक्रिया