वीरगन्ज :

भक्तिको महासागरमा डुब्यो वीरगञ्ज : गहवामाईको चौथो रथयात्रामा हजारौं श्रद्धालुको सहभागिता

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.5kViews
1837 Shares

वीरगंज (पर्सा), ३२ असार । वीरगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको श्री गहवामाई मन्दिरको चौथो वार्षिक रथयात्रा बिहीबार भव्य रूपमा सम्पन्न भएको छ। लगातार चौथो वर्ष आयोजना गरिएको यस धार्मिक महोत्सवमा हजारौं श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिताले वीरगञ्जको मुख्य बजार क्षेत्र भक्तिमय बनेको थियो।

बिहान विशेष वैदिक विधिअनुसार देवी गहवामाईको पूजा–अर्चना सम्पन्न गरेपछि रथयात्राको औपचारिक शुभारम्भ गरिएको थियो। त्यसपछि सजाइएको रथ मन्दिर परिसरबाट प्रस्थान गर्दै घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर तथा घडिअर्वा क्षेत्रको परिक्रमा गरी पुनः माईस्थान मन्दिर पुग्ने कार्यक्रम तय गरिएको माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी दिए।

धार्मिक यात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयन गरेका थिए। रथयात्रा मार्गका संवेदनशील स्थानहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको थियो भने सादा पोशाकमा समेत प्रहरी खटाएर निगरानीलाई थप प्रभावकारी बनाइएको थियो। यात्राका क्रममा सवारी साधनको आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विभिन्न स्थानमा वैकल्पिक मार्ग सञ्चालन गरेको थियो।

रथयात्रामा सहभागी हुन बिहानैदेखि मन्दिर परिसर भक्तजनले भरिएको थियो। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका श्रद्धालुहरू देवीको दर्शन र रथयात्रामा सहभागी हुन उत्साहपूर्वक उपस्थित भएका थिए। रथयात्रा सुरु हुनुअघि वर्षा भए पनि त्यसले भक्तजनको आस्था र उत्साहमा कुनै कमी ल्याउन सकेन।

मुख्य सडक विस्तार अभियानका कारण रथमार्गका केही स्थानमा संरचना हटाइएकाले सामान्य असहज अवस्था देखिए पनि धार्मिक यात्राको क्रममा त्यसले कुनै उल्लेखनीय अवरोध सिर्जना गरेन। भक्तजनहरू अनुशासित र भक्तिभावका साथ रथको पछि लाग्दै देवीप्रति आफ्नो आस्था प्रकट गरिरहेका देखिन्थे।

आयोजक समितिले बिहानको रथयात्रापछि दिउँसो १२ बजेसम्म विशेष पूजा सञ्चालन गर्ने जनाएको छ। त्यसपछि केही समय विश्राम गरी दिउँसो १ बजेदेखि पुनः धार्मिक अनुष्ठान सुरु हुनेछ। कार्यक्रमअनुसार बेलुका ४ बजे मुख्य हवन सम्पन्न गरिनेछ भने साँझ ६ बजे भव्य महाआरती आयोजना हुनेछ। महाआरतीपछि साँझ ६ः३० बजेदेखि उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गरिने आयोजकको तयारी छ।

वर्षौंदेखि वीरगञ्जको धार्मिक जीवनसँग अभिन्न रूपमा जोडिएको गहवामाई रथयात्रा अहिले शहरको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित भइसकेको छ। यसले विभिन्न समुदायबीच धार्मिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकहरूको विश्वास रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *