वीरगन्ज :

गहवामाई मन्दिर क्षेत्रमा बजार अनुगमन : २५ केजी गुणस्तरहीन लड्डु नष्ट, तीन मिठाई पसललाई २०–२० हजार जरिवाना

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.8kViews
1678 Shares

वीरगंज (पर्सा), ३१ असार । श्री गहवामाई मन्दिर परिसर आसपास बिक्री हुने लड्डु, पेडा तथा अन्य मिठाईको गुणस्तर र खाद्य स्वच्छता सुनिश्चित गर्न बुधबार सम्बन्धित निकायहरूको संयुक्त टोलीले बजार अनुगमन गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्ज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च नेपाल तथा सञ्चारकर्मी सम्मिलित टोलीले मन्दिर वरपर सञ्चालित मिठाई पसल र उत्पादन केन्द्रहरूको निरीक्षण गरेको हो।

अनुगमनका क्रममा केही पसल तथा उद्योगमा खाद्य उत्पादनस्थल (किचेन) को सरसफाइ सन्तोषजनक नरहेको, ढुसी लागेको लड्डु बिक्रीका लागि राखिएको तथा लड्डुमा अत्यधिक मात्रामा कृत्रिम रङको प्रयोग गरिएको भेटिएको टोलीले जनाएको छ।

त्यसक्रममा तीन वटा फर्मबाट करिब २५ केजी गुणस्तरहीन लड्डु जफत गरी तत्काल नष्ट गरिएको छ। साथै खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि सम्बन्धित तीन व्यवसायलाई जनही २० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। अनुगमन टोलीले आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन तथा खाद्य सामग्रीको गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिन व्यवसायीलाई निर्देशनसमेत दिएको छ।

कारबाहीमा पर्ने फर्महरूमा वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार रहेका छन्। त्यसैगरी माईस्थानस्थित आस्था मिष्ठान भण्डारमा फेला परेको गुणस्तरहीन लड्डु पनि नष्ट गरिएको अनुगमन टोलीले जानकारी दिएको छ।

गहवामाई मन्दिरमा वर्षभरि ठूलो संख्यामा भक्तजन आउने भएकाले त्यहाँ बिक्री हुने प्रसाद तथा मिठाईको गुणस्तर र स्वच्छतामा सम्बन्धित निकायले निरन्तर निगरानी बढाउनुपर्ने उपभोक्ताहरूको माग रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *