वीरगन्ज :

मकवानपुरमा बाढीले ट्रक बगायो, चालकले पौडिएर ज्यान जोगाए

श्रेणी : प्रदेश

3 hours
Pradeep Sah
2.1kViews
1261 Shares

मकवानपुर,२९ असार । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले सोमबार बिहान एउटा १२ चक्के ट्रक बगाएको छ। ट्रकका चालक भने समयमै बाहिर निस्केर पौडिँदै सुरक्षित हुन सफल भएका छन्।

प्रहरीका अनुसार शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्किरहेको ना ७ ख ७६५ नम्बरको ट्रक बिहान करिब ७:४५ बजे कर्रा खोला तर्ने क्रममा बाढीको तीव्र बहावमा परेको थियो।

खोलामा ह्युमपाइप राखेर निर्माण गरिएको अस्थायी कल्भर्ट (लच्का) माथिबाट पानीको बहाव अचानक बढेपछि ट्रक नियन्त्रण बाहिर गई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनामा ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङले पौडिएर आफ्नो ज्यान जोगाएका छन्। उनको खुट्टामा सामान्य चोट लागेको छ र हेटौंडा–६ चौघडास्थित एक मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढीले बगाएको ट्रकलाई सुरक्षित रूपमा खोलाबाट निकाल्ने प्रयास जारी छ। साथै, लगातारको वर्षासँगै नदी तथा खोलामा पानीको सतह बढिरहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *