बीरगन्ज,२९ असार । लगातार परेको वर्षाका कारण बीरगन्ज महानगरपालिका–११ स्थित श्रीपुर टोलको मुख्य सडक जलमग्न भएको छ।
हरेक वर्ष वर्षायाममा दोहोरिने डुबानको समस्या यस वर्ष पनि दोहोरिएपछि स्थानीयवासी आवतजावतमा सास्ती भोग्न बाध्य भएका छन्।
सडकमा पानी जम्दा पैदलयात्री, मोटरसाइकल चालक तथा स्थानीय व्यवसायी सबैभन्दा बढी प्रभावित भएका छन्। जलनिकासको प्रभावकारी व्यवस्था नहुँदा सामान्य वर्षामै सडक डुबानमा पर्ने गरेको स्थानीयको गुनासो छ।
स्थानीयले वर्षौंदेखि स्थायी समाधानको माग गर्दै आए पनि समस्या समाधान हुन नसकेको बताएका छन्। उनीहरूले वर्षायामअघि नै नाला सफाइ, प्रभावकारी ढल व्यवस्थापन तथा दीर्घकालीन जलनिकास योजना कार्यान्वयन गर्न बीरगन्ज महानगरपालिकासँग माग गरेका छन्।
लगातार वर्षा जारी रहेकाले डुबान अझ बढ्न सक्ने सम्भावना रहेको भन्दै स्थानीयलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया