श्रेणी : BANNER
वीरगंज (पर्सा), २६ असार । सामाजिक सञ्जालमा कमेडी भिडियोमार्फत परिचित आदर्श मिश्रा फेरि एकपटक विवादको केन्द्रमा परेका छन्। उनले हालै सार्वजनिक गरेको भिडियोमा पर्साका सञ्चारकर्मी तथा पत्रकारलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भएको हो।
भिडियो सार्वजनिक भएपछि विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा मिश्राको अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि व्यक्त भइरहेको छ। धेरै प्रयोगकर्ताले मनोरञ्जन वा कमेडीको नाममा अश्लील, अपशब्दयुक्त तथा मर्यादाविपरीत भाषा प्रयोग गर्नु कुनै पनि दृष्टिले स्वीकार्य हुन नसक्ने टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रियाअनुसार, मिश्राले यसअघि पनि आफ्ना भिडियोमा विवादास्पद तथा असभ्य भाषा प्रयोग गर्दै चर्चामा आउने प्रयास गर्ने गरेको आरोप लगाइएको छ। पछिल्लो अभिव्यक्तिले पनि उनको शैलीमाथि पुनः प्रश्न उठाएको भन्दै आलोचकहरूले सार्वजनिक रूपमा प्रस्तुत हुने व्यक्तिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने दायित्व बिर्सन नहुने धारणा राखेका छन्।
धेरै प्रतिक्रियामा पत्रकारिता लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सम्पूर्ण सञ्चारकर्मीलाई एउटै समूहका रूपमा अपमानजनक शब्द प्रयोग गरेर होच्याउने कार्य उचित नभएको बताइएको छ। असहमति वा आलोचना व्यक्त गर्ने अधिकार सबैलाई भए पनि त्यसका लागि सभ्य, संयमित र मर्यादित भाषा प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया