वीरगन्ज :

देशभर मनसुनको प्रभाव, मधेसमा आज मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान

श्रेणी : देश

4 hours
Pradeep Sah
2.4kViews
1114 Shares

वीरगञ्ज, २५ असार देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागमा आफ्नो औसत अवस्थामै रहेकाले मुलुकभर वर्षा गराउने अनुकूल वातावरण बनेको हो।

हाल मधेस प्रदेशसहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

लामो समयदेखि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित बनेको मधेसका किसानका लागि यो मौसम प्रणाली राहतको संकेत बनेको छ। आज दिउँसो मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार रातिको समयमा पनि मौसम थप सक्रिय रहनेछ। मधेसका पहाडी तथा तराईका केही क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। वर्षाले कृषि कार्यलाई सहयोग पुर्‍याउने अपेक्षा गरिए पनि चट्याङको जोखिमलाई बेवास्ता नगर्न मौसमविद्हरूले सुझाव दिएका छन्।

आज पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज दिउँसो तीव्र गतिको हावाहुरी चल्न सक्ने भएकाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा देशभर आकाश पूर्ण रूपमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी–खोला आसपास बसोबास गर्ने तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *