श्रेणी : BANNER
धनगढी, २५ असार । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिएको छ।
घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा उनले दिएको भनाइ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन थालेपछि घटनाबारे जानकारी लिन उनलाई जिल्ला झिकाइएको हो।
कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गरेका छन्। उनका अनुसार अहिले छानबिनभन्दा पनि कार्यक्रममा व्यक्त गरिएको अभिव्यक्तिको सन्दर्भ र उद्देश्यबारे जानकारी लिने काम भइरहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डीएसपी चौधरीले “हामी बालेनको पुलिस होइनौँ, नेपाल पुलिस हौँ। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने जिम्मेवारी हाम्रो हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही नेपाल पुलिस हो,” भन्ने अभिव्यक्ति दिएका थिए।
उनले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा उपस्थित विद्यार्थीहरूले ताली बजाएको दृश्य सार्वजनिक भिडियोमा देखिन्छ।
भाषणका क्रममा उनले नेपाल प्रहरीको बर्दी कसैले पनि मनपरी रूपमा लगाउन नपाउने उल्लेख गर्दै आफू २०७० सालमा १३८ जनामध्ये छनोट भएर प्रहरी सेवामा प्रवेश गरेको अधिकारी भएको बताएका थिए।
त्यसक्रममा उनले “हामी भोट हालेर, टीका लगाएर वा दारु–भात खाएर यहाँ आएका होइनौँ,” भन्दै प्रहरी सेवामा प्रतिस्पर्धामार्फत प्रवेश गरेको प्रसंग पनि उल्लेख गरेका थिए।
डीएसपी चौधरीले आफ्नो सम्बोधनको भिडियो सार्वजनिक नगर्न आग्रह गरेको आवाजसमेत भिडियोमा सुनिन्छ। तर, उक्त आग्रहविपरीत भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको अभिव्यक्तिले व्यापक चर्चा र बहस सिर्जना गरेको छ।
यद्यपि, जिल्ला प्रहरी कार्यालय कैलालीले यसलाई औपचारिक कारबाहीको प्रक्रिया नभई कार्यक्रममा व्यक्त गरिएको भनाइ कुन परिस्थितिमा र के उद्देश्यले राखिएको थियो भन्ने विषयमा सामान्य सोधपुछका लागि मात्र जिल्ला बोलाइएको स्पष्ट पारेको छ।

प्रतिक्रिया