वीरगन्ज :

कोल्हबीबाट अवैध सालको काठ बरामद

श्रेणी : अपराध

6 hours
Pradeep Sah
2.1kViews
1115 Shares

कलैया (बारा), २४ असार । डिभिजन वन कार्यालय बाराले सञ्चालन गरेको विशेष अपरेशनका क्रममा कोल्हबी नगरपालिका–५ स्थित सखुवा गाउँबाट अवैध रूपमा लुकाइराखिएको सालको काठ बरामद गरिएको छ । कोल्हबी सब–डिभिजन वन कार्यालयका प्रमुख कृष्णकुमार पटेलको नेतृत्वमा खटिएको टोलीले एक घरमा छापा मार्दा करिब २० क्युफिट बराबरका चार थान सालका गोलिया काठ फेला पारेको हो । बरामद गरिएको काठ हाल डिभिजन वन कार्यालयको नियन्त्रणमा राखिएको छ ।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झाका अनुसार बुधबार दिउँसो करिब २ बजेदेखि सुरु गरिएको विशेष अपरेशन करिब एक घण्टासम्म सञ्चालन गरिएको थियो । उनले छापामार कारबाहीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा सालको काठ बरामद भएको जानकारी दिए ।

वन कार्यालयका अनुसार बरामद गरिएको काठका मालिक भनिएका व्यक्ति भने टोली पुग्नुअघि नै फरार भएकाले पक्राउ गर्न सकिएको छैन । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ । कारबाहीका क्रममा वन कार्यालयको टोली र केही स्थानीयबीच केहीबेर सामान्य तछाडमछाडको अवस्था सिर्जना भएको भएपनि कुनै अप्रिय घटना भने नभएको जनाइएको छ ।

विशेष अपरेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत सहयोग रहेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयले अवैध काठ तस्करी तथा वन पैदावारको गैरकानुनी कारोबार नियन्त्रणका लागि यस्ता निगरानी र विशेष अपरेशन आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *