वीरगन्ज :

नारायणी अस्पतालमा ‘क्याथ ल्याब’ जडान अन्तिम चरणमा, मुटुरोग उपचार सेवा छिट्टै सञ्चालन हुने

श्रेणी : मधेस

6 hours
Pradeep Sah
2.3kViews
1488 Shares

वीरगंज (पर्सा), २४ असार । लामो समयदेखि सञ्चालनमा आउन नसकेको नारायणी अस्पतालको क्याथ ल्याब मेसिन अन्ततः जडानको अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उपकरण जडानको काम अन्तिम अवस्थामा पुगेको जानकारी दिँदै सेवा सञ्चालनको तयारी तीव्र बनाइएको जनाएको छ ।

२०७६ साल चैत महिनामा खरिद गरिएको उक्त अत्याधुनिक मेसिन विभिन्न प्राविधिक तथा प्रशासनिक कारणले हालसम्म प्रयोगमा आउन सकेको थिएन । वर्षौंको प्रतीक्षापछि जडान प्रक्रिया अन्तिम चरणमा पुगेसँगै अस्पतालमा मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सुरु गर्ने तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

क्याथ ल्याब सेवा सञ्चालन भएपछि मधेस प्रदेशका बिरामीले मुटुसम्बन्धी जाँच तथा उपचारका लागि काठमाडौं वा अन्य सहर धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको छ । विशेषगरी एन्जियोग्राफी, एन्जियोप्लास्टीलगायत मुटुरोगसम्बन्धी आवश्यक सेवाहरू आफ्नै प्रदेशमै उपलब्ध हुने अपेक्षा गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यस सेवाको शुभारम्भसँगै मधेस प्रदेशका साथै आसपासका जिल्लाका सेवाग्राहीले गुणस्तरीय, सहज र समयमै मुटुरोग उपचार सेवा प्राप्त गर्नेछन् । यसले उपचारका लागि लाग्ने समय, खर्च र बिरामीको सास्तीसमेत कम हुने विश्वास मन्त्रालयको छ । मन्त्रालयले जडान कार्य सम्पन्न भएपछि आवश्यक प्राविधिक तयारी पूरा गरी क्याथ ल्याब सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *