वीरगन्ज :

स्थानीयको अवरोधपछि वीरगञ्ज मेनरोडमा डोजर अभियान फेरि रोकियो

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.0kViews
1177 Shares

वीरगंज (पर्सा), १९ असार । त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक (मेनरोड) क्षेत्रमा सडक सीमाभित्रका संरचना हटाउन शुक्रबारदेखि पुनः सुरु गरिएको डोजर अभियान स्थानीयवासीको विरोधका कारण तत्कालका लागि स्थगित भएको छ।

सडक डिभिजन कार्यालय, हेटौंडाका इन्जिनियर दुर्गाप्रसादका अनुसार संरचना हटाउने क्रममा स्थानीयले अवरोध गरेपछि विवादको अवस्था सिर्जना भएकाले अभियान अस्थायी रूपमा रोकिएको हो।

यसअघि वैशाख ६ र ७ गते पहिलो चरणमा सडक विभागले सडक सीमा क्षेत्रमा रहेका घर, भवन तथा अन्य संरचनामा डोजर चलाएर आंशिक रूपमा भत्काएको थियो। त्यसपछि करिब अढाई महिनासम्म रोकिएको सडक विस्तारको काम शुक्रबारदेखि पुनः अघि बढाइएको थियो।

पहिलो चरणमा सडकको दायाँ–बायाँ २५/२५ मिटर सीमा क्षेत्रभित्र पर्ने संरचनामा आंशिक रूपमा डोजर चलाइएपछि सम्बन्धित घरधनीलाई २५ दिनभित्र बाँकी भाग आफैं हटाउन निर्देशन दिइएको थियो। तर अधिकांशले संरचना नहटाएपछि विभागले बाँकी भाग हटाउन पुनः डोजर परिचालन गरेको जनाएको छ।

यसअघि असार २ गते सडक डिभिजन कार्यालय, हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै पाँच दिनभित्र सडक सीमा क्षेत्रभित्रका संरचना स्वयं हटाउन आग्रह गरेको थियो। निर्धारित अवधिमा अटेर गरे सडक ऐन, २०३१ अनुसार विभागले आफैं हटाउने चेतावनी पनि दिएको थियो।

विभागका अनुसार गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक खण्डमा पर्ने करिब एक हजार २०० घर तथा भवनमा वैशाख ६ र ७ गते आंशिक रूपमा डोजर चलाइएको थियो। त्यसयता केही घरधनीले आफ्ना संरचना हटाए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश भवन अझै यथावत् रहेका छन्।

यता, सडक विस्तारको योजनाविरुद्ध मेनरोड क्षेत्रका घरधनीहरू वैशाख महिनादेखि आन्दोलनरत छन्। उनीहरूले मेनरोडलाई शहरी सडकका रूपमा कायम राख्नुपर्ने र हालको सडक विस्तार योजना स्थगित गर्नुपर्ने माग गर्दै आएका छन्।

स्थानीयको निरन्तर विरोध र सडक विभागको सडक सीमा संरक्षण अभियानबीच वीरगञ्जको मेनरोड विस्तारको विषय अझै विवादको केन्द्रमा रहेको देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *