श्रेणी : BANNER
वीरगंज (पर्सा), १८ असार । वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया गएका पर्साका एक युवकको मृत्यु भएको तीन महिना बितिसक्दा पनि उनको पार्थिव शरीर नेपाल ल्याउन नसकिएको भन्दै प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराइएको छ ।
पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै पर्सागढी नगरपालिका–७, बागेश्वरी निवासी २९ वर्षीय राकेश पटेलको अस्ट्रेलियामा मृत्यु भएको जानकारी गराएका हुन् ।
सांसद कानुका अनुसार रोजगारीका लागि अस्ट्रेलिया पुगेका पटेलको करिब तीन महिनाअघि अस्ट्रेलियाकाे तामसेलियामा मृत्यु भएको हाे । तर मृत्यु भएको यति लामो समय बितिसक्दा पनि उनको पार्थिव शरीर नेपाल ल्याउने नसकिएकाे उनले बताए ।
उनले राकेश पटेलको मृत्यु सम्बन्धी विवरण वैशाख २३ गते नै परराष्ट्र मन्त्रालयमा दर्ता गरिएको भए पनि हालसम्म शव स्वदेश ल्याउन नसकिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
सांसद कानुले दिवंगत पटेलको पार्थिव शरीरलाई सुरक्षित, सम्मानजनक र यथाशीघ्र नेपाल ल्याउन आवश्यक कूटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरे । साथै, विदेशमा रहेका नेपाली नागरिकको जीवन सुरक्षा, अधिकार र आकस्मिक अवस्थामा उद्धार तथा व्यवस्थापनका विषयमा सरकार थप संवेदनशील र जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे ।
उनले दिवंगत राकेश पटेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि प्रकट गरेका छन् ।

प्रतिक्रिया